काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवद्र्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए । राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए ।