काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ४ः५८ बजे गएको भूकम्पको केन्द्रविन्दु पूर्वी नुसा तेंगारा प्रान्तको फ्लोरेस द्वीप नजिक समुद्रमा रहेको थियो।
करिब १५ किलोमिटर गहिराइमा गएको भूकम्पका कारण भवन तथा अन्य संरचनामा क्षति पुगेको छ। भूकम्पका कारण कैयौको मृत्यु हुने र घाइते भएको आशंका गरिएको छ।
भूकम्पपछि इन्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी निकायले पूर्वी नुसा तेंगारा, पश्चिम नुसा तेंगारा र दक्षिण सुलावेसीका केही क्षेत्रमा सुनामी चेतावनी जारी गरेको थियो।
तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थान तथा अग्लो भूभागतर्फ जान आग्रह गरिएको थियो। भूकम्पपछि शक्तिशाली परकम्पहरू पनि महसुस भएका छन्। प्रारम्भिक सुनामी चेतावनीपछि समुद्री सतहमा ठूलो प्रभाव नदेखिएपछि चेतावनी हटाइएको बताइएको छ।