काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवाका नाममा ‘सभापति’ लेखिएको नेमप्लेट राखिएकोप्रति असन्तुष्टि जनाउँदै आफ्नै निकटस्थहरूबाट सतर्क रहन आग्रह गरेका छन्।
सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले देउवालाई सम्बोधन गर्दै ‘दाइ, तपाईंलाई साथीहरूले नेमप्लेट राखेर सभापति भनेर राखिदिएछन्, मलाई अलिकति नरमाइलो लाग्यो’ भने। चुनदेवी सम्पर्क कार्यालयमा देउवाको नामसहित सभापतिको नेमप्लेट राखिएको प्रसंग उल्लेख गर्दै उनले विगतमा पनि देउवालाई सही सल्लाह दिनेभन्दा वरिपरि बसेर स्वार्थ पूरा गर्नेहरूले अलमल्याएको दाबी गरे।
‘जसले वरिपरि बसेर धूप बाले ती आफ्ना लागे, आफ्नाले डुबाए दाइ, फेरि डुबाउँछन्, यसको चिन्ता हो,’ थापाले भने। देउवालाई विभिन्न बहानामा पुनः सक्रिय भूमिकामा फर्काउन खोजिएको र पटक–पटक गलत आश्वासन दिइएको भन्दै उनले आफ्ना निकटस्थहरूकै भूमिकाप्रति प्रश्न उठाएका हुन्।
थापाले देउवाप्रति आफ्नो सम्मान कायम रहेको स्पष्ट पार्दै आगामी १५औँ महाधिवेशनमा उनलाई निवर्तमान सभापतिको हैसियतमा सम्मानपूर्वक विशेष अतिथिका रूपमा सहभागी गराउने बताए। उनले देउवालाई कार्यकारी भूमिकाभन्दा माथि उठेर पार्टीको अभिभावकीय भूमिकामा रहन आग्रह गरे।
साथै, पार्टीभित्र देखिएका फरक–फरक धारणा स्वाभाविक भएको भन्दै आगामी महाधिवेशनमा ती विषयमा खुला छलफल गरिने बताए। संस्थापनइतर पक्षको भेलाबाट आएका प्रस्तावलाई पनि महाधिवेशनमा छलफलका लागि ल्याउन आग्रह गर्दै थापाले विशेष महाधिवेशनमा सहभागी भएका नेताहरूलाई ‘फर्जी’ भन्दै तल्लो तहका कार्यकर्तालाई अपमान नगर्न चेतावनी दिए। उनले अब १५औँ महाधिवेशनको प्रक्रिया अघि बढ्ने र त्यसअघि विभिन्न नेतासँग संवाद गरेर पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने पनि बताएका छन्।
‘मेरो अनुहारका कारण भोट नआएको र मेरो ठाउँमा अरू कसैको अनुहार भएको भए धेरै भोट आउँथ्यो भन्नेकुरा पनि उठेको रहेछ । होला पनि । त्यसो हो भने यही विषय अधिवेशनमा लिएर गए हुन्छ । महाधिवेशनमा अर्को साथीले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सक्नुहुन्छ र मलाई हराएर पार्टीको नेतृत्व सम्हाल्न सक्नुहुन्छ,’ थापाले भनेका छन् ।