काठमाडौं । चाबहिलस्थित रिभेरा इन्टरनेसनल एकेडेमीका विद्यार्थीले आफैं निर्माण गरेको इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोग गरेर विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न गरेका छन्। विद्यालयका अनुसार २०८३ जेठ ११ गते सम्पन्न निर्वाचनमा कक्षा ४ देखि १० सम्मका ३८७ विद्यार्थीले मतदान गरेका थिए।

विद्यार्थीले नै डिजाइन, प्रोग्रामिङ, हार्डवेयर संयोजन, परीक्षण र सञ्चालन गरेको ईभीएमबाट मतदान गराइएको र मतदान सकिएलगत्तै डिजिटल प्रणालीमार्फत परिणाम निकालिएको थियो। विद्यालयले विद्यार्थीले निर्माण गरेको ईभीएम प्रयोग गरेर विद्यालय तहको निर्वाचन सञ्चालन गरिएको यो नेपालमै पहिलो उदाहरण रहेको जनाएको छ। कक्षा ७ देखि १० सम्मका २२६ र कक्षा ४ देखि ६ सम्मका १६१ विद्यार्थी निर्वाचनमा सहभागी भएका थिए।

यो परियोजना रिभेराले ओम्नी अर्बिटसँगको सहकार्यमा सञ्चालन गर्दै आएको नोभा स्टिम करिकुलम अन्तर्गत विकास गरिएको हो। विद्यार्थीले ईभीएमको हार्डवेयर र सर्किट डिजाइनसँगै मतदान सफ्टवेयर, डाटाबेस, प्रयोगकर्ता इन्टरफेस तथा निर्वाचन व्यवस्थापन प्रणाली निर्माण गरेका थिए।

प्रणालीमा निर्वाचन ड्यासबोर्ड, रियल टाइम मोनिटरिङ, अनलाइन रिजल्ट, डाटा एनालिटिक्स र डिजिटल मतगणनाजस्ता सुविधा राखिएको विद्यालयले जनाएको छ। विद्यार्थीको सिकाइलाई पाठ्यपुस्तकमा सीमित नराखी वास्तविक समस्या समाधानमा केन्द्रित गर्ने रिभिएराको स्टिम शिक्षाको अवधारणासँग यो परियोजना जोडिएको विद्यालयले जनाएको छ। विद्यालयमा स्टिम कक्षामार्फत विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई व्यवहारिक सिकाइसँग जोड्ने अभ्यास भइरहेको सार्वजनिक विवरणमा उल्लेख छ।

विद्यालयका प्रिन्सीपल प्रज्वल कोइरालाका अनुसार ईभीएम परियोजना विभिन्न शैक्षिक तथा नवप्रवर्तनसम्बन्धी पाँचभन्दा बढी प्रतियोगिता र कार्यक्रममा समेत प्रस्तुत भइसकेको छ। सेन्ट जेभियर्स, सेन्ट लरेन्स, रिपुमर्दिनी सैनिक महाविद्यालय, रिलायन्स इन्टरनेशल लगायतका संस्थाले आयोजना गरेका कार्यक्रममा परियोजनाले व्यवहारिक प्रयोग, नवप्रवर्तन र विस्तारको सम्भावनाका आधारमा पुरस्कृत समेत भएको छ ।

प्रिन्सिपल प्रज्वल कोइरालाका अनुसार, स्टिम शिक्षा विद्यार्थीलाई किताबमा पढेको ज्ञानमा मात्र सीमित नराखी त्यसलाई व्यवहारमा प्रयोग गर्न सिकाउने महत्वपूर्ण माध्यम भएको हुनाले विद्यालयमा प्रयोग गर्दै अघि बढेको जनाएका छन्। विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई एकीकृत गर्दै स्टिम शिक्षाले विद्यार्थीमा सिर्जनशील सोच, समस्या समाधान गर्ने क्षमता, अनुसन्धान, सहकार्य र नयाँ प्रविधि निर्माण गर्ने आत्मविश्वास विकास गर्ने समेत जनाएका छन् ।

‘विद्यार्थीले प्रविधि प्रयोग गर्ने मात्र होइन, आफैं प्रविधि निर्माण गर्न सक्ने वातावरण सिर्जना गर्नु आजको शिक्षाको आवश्यकता हो,’ कोइरालाको भनाइ छ। उनका अनुसार विद्यार्थीले आफैं ईभीएम निर्माण गरेर वास्तविक निर्वाचनमा प्रयोग गर्नु स्टिम शिक्षाले कक्षाकोठाको सिकाइलाई वास्तविक जीवनसँग कसरी जोड्न सक्छ भन्ने उदाहरण हो।

रिभेराले विगतदेखि नै विद्यार्थी परिषद्, क्लब, खेलकुद, कला, वक्तृत्व, परियोजना तथा अन्य सहपाठ्यक्रम गतिविधिलाई विद्यार्थीको नेतृत्व र सिर्जनशीलता विकाससँग जोड्दै आएको देखिन्छ। विद्यालयका लागि ईभीएम निर्वाचन केवल विद्यार्थी परिषद् चयन गर्ने प्रक्रिया नभई प्रविधि निर्माण, लोकतान्त्रिक अभ्यास र व्यवहारिक शिक्षालाई एउटै अभ्यासमा जोड्ने प्रयोग बनेको छ। विद्यार्थीले आफैं बनाएको प्रविधिमा आफैंले मतदान गरी आफ्ना प्रतिनिधि चयन गरेको यो अभ्यासले विद्यालय तहमा डिजिटल निर्वाचनको सम्भावनाबारे नयाँ बहससमेत सुरु गराएको छ।