काठमाडौं । दोस्रो झापा १–काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन साविक मेचीनगरले जितेको छ। ललितपुरस्थित लिटल एन्जल्स स्कुलमा आयोजित खेलमा मेचीनगरले शान्तिनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि आफ्नो पक्षमा पारेको हो।
मेचीनगरको जितमा राजदीप अधिकारी, पात्थुङ नेम्वाङ र प्रतीक सुवेदीले एक–एक गोल गरे। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको मेचीनगरले शान्तिनगरलाई गोल गर्ने पर्याप्त अवसर सिर्जना गर्न नदिँदै सहज जित निकाल्यो।
प्रतियोगिताको विजेता मेचीनगरले नगद २१ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्दा उपविजेता शान्तिनगरले ११ हजार रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझायो।
सेमिफाइनलमा मेचीनगरले बाहुनडाँगीलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अर्को सेमिफाइनलमा शान्तिनगर र ज्यामिरगढीबीच निकै प्रतिस्पर्धात्मक खेल भयो। निर्धारित खेलमा बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा शान्तिनगरले ज्यामिरगढीलाई १०–९ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।
प्रतियोगिताको पहिलो खेलमा ज्यामिरगढीले चन्द्रगढीलाई ५–१ गोलले पराजित गरेको थियो। दोस्रो खेलमा मेचीनगरले धाइजनलाई ७–० गोलले हराएको थियो भने तेस्रो खेलमा शान्तिनगरले दुवागडीलाई ७–३ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
सात टोली मात्र सहभागी भएकाले बाहुनडाँगीले भने वाकओभरमार्फत सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।
प्रतियोगितामा झापा क्षेत्र नम्बर १ का साविकका सात गाविस तथा स्थानीय निकाय मेचीनगर, दुवागडी, शान्तिनगर, चन्द्रगढी, ज्यामिरगढी, धाइजन र बाहुनडाँगीका टोली सहभागी थिए।
कलाकारदेखि राजनीतिज्ञसम्मको मैत्रीपूर्ण खेल
प्रतियोगितालाई केवल प्रतिस्पर्धात्मक फुटसलमा सीमित नराखी विभिन्न क्षेत्रका व्यक्तित्वलाई जोड्ने उद्देश्यले मैत्रीपूर्ण खेलहरू पनि आयोजना गरिएको थियो।
पत्रकार र व्यवसायीबीच मैत्रीपूर्ण फुटसल गरिएको थियो त्यसैगरि कर्मचारी र व्यवसायीबीच तथा महिला ‘ए’ र महिला ‘बी’ टोलीबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो।
त्यस्तै कलाकार र राजनीतिज्ञबीचको मैत्रीपूर्ण फुटसलले प्रतियोगितालाई थप आकर्षक बनाएको थियो। कलाकारको टोलीमा चर्चित हास्य कलाकार मनोज गजुरेल, हेमन्त बुढाथोकी, कृष्ण शिवाकोटी, टीका भण्डारी, भानु ढकाललगायत सहभागी थिए।
राजनीतिज्ञको टोलीमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, नेता रञ्जित तामाङ, एलपी साँवा, भक्ति सिटौला, भाष्कर काफ्ले लगायत सहभागी थिए। प्रतियोगिताका क्रममा भएका यी मैत्रीपूर्ण खेलले खेलकुदमार्फत विभिन्न क्षेत्रका व्यक्तिबीच आपसी सम्बन्ध, सहकार्य र सद्भाव अभिवृद्धिको सन्देश दिएको आयोजकले जनाएको छ।
गगनले उद्घाटन, विश्वप्रकाशले पुरस्कार वितरण
प्रतियोगिताको आयोजना नेपाली कांग्रेस सम्पर्क समिति झापा–१ ले गरेको हो। युवाबीच खेलकुदको विकास, आपसी सम्बन्ध र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने लक्ष्य रहेको सम्पर्क समिति अध्यक्ष प्रज्वल कोइरालाले बताए।
प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गरेका थिए। समापन कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरे।
आयोजकका अनुसार झापा क्षेत्र नम्बर १ बाट काठमाडौंमा आएर विभिन्न पेशा, व्यवसाय तथा विभिन्न क्षेत्रमा सक्रिय झापा बासीलाई एउटै खेलकुद मञ्चमा जोड्नु प्रतियोगिताको मुख्य उद्देश्य हो।
आयोजकले आगामी वर्ष प्रतियोगितालाई थप व्यवस्थित र व्यापक बनाउँदै झापा–१ का युवाको सहभागिता तथा खेलकुद गतिविधिलाई निरन्तरता दिने जनाएको छ।