प्रहरीले बरामद गरेको पच्चिस करोड सुन कारोबारसँग जोडिएको आशंका

प्रहरीले बरामद गरेको पच्चिस करोड सुन कारोबारसँग जोडिएको आशंका
  • ४ चैत्र २०८१, मंगलवार १६:०३

काठमाडौं । टोखा नगरपालिकाको झोरबाट प्रहरीले सोमबार राति २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रासहित ट्रक चालकलाई पक्राउ गरेको छ। ना ७ ख १६५२ नम्बरको ट्रकबाट प्रहरीले उक्त रकम बरामद गरेको हो। चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय कुशाङ लामा (फुच्चे) रहेको खुलेको छ। उनले केही समयअघि सुन तस्करी आरोपमा पाँच वर्ष जेल सजाय भोगिसकेका थिए।

mulpatra


यस अघिपनि सुन कारोबारमा पक्राउ परेका लामाले यति धेरै रकम चीनको तीब्बत तर्फ लान लागेकाले सुन कारोबारकै लागि रकम लान खोजेको प्रहरीको ठम्याई छ ।


प्रहरीका अनुसार लामाले ट्रकको क्याबिनमा फल्स बटम बनाएर पैसा लुकाएका थिए। प्रारम्भिक बयानमा उनले उक्त मुद्रा केरूङ लैजान लागेको बताएका छन्। उनले ट्रक रसुवागढी पु¥याएर भिसा प्राप्त व्यक्तिको सहयोगमा चीन पठाउने योजना बनाएको देखिन्छ।


प्रहरीले यो ठूलो परिमाणको रकम कहाँबाट संकलन भयो भन्नेबारे अनुसन्धान गरिरहेको छ। बैंकबाट यति धेरै रकम निकाल्न सम्भव नदेखिएकोले अवैध माध्यमबाट सटही भएको हुनसक्ने अनुमान गरिएको छ। ट्रकमा रकम कसले राखिदियो भन्नेबारे चालकले काठमाडौंको सामाखुसीमा पार्किङ गरेका बेला कसैले लोड गरिदिएको बयान दिएका छन्।


प्रहरीले सोमबार राति ट्रकलाई टोखाको झोर सडकमा रोकेर चेकजाँच गर्दा पैसा भेटिएपछि टेकु ल्याएर अनुसन्धान गरेको थियो। फल्स बटम तोडेर हेर्दा पोका-पोकामा विदेशी मुद्रा लुकाइएको भेटियो। प्रहरीले मंगलबार पुनः मेसिनको सहायताले रकम गणना गरेको थियो।


बरामद भएको रकममध्ये २० करोड ७६ लाख ४७ हजार ६५० रुपैयाँबराबरको युरो र ४ करोड ४२ लाख ७७ हजार ३०० रुपैयाँबराबरको अमेरिकी डलर रहेको छ। प्रहरीले विदेशी विनिमय ऐन २०१९ अन्तर्गत अनुसन्धान गर्न चालक लामालाई राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाउने तयारी गरेको छ।