बर्षाको कारण नतिजा विहिन भएपछि चार देशीय टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा नेपाल

काठमाडौं । नेपाल हङकङमा जारी चार देशीय टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ । मिसन रोड क्रिकेट मैदानमा शनिबार भएको घरेलु टोली हङकङविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको हो ।
आज भएको लिग चरणको तेश्रो तथा अन्तिम खेलको पहिलो इनिङ चक्दै गर्दा वर्षा शुरु भएपछि खेल रद्द हुन पुगेको हो । जतिबेला घरेलु टोलीले नौ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाएको थियो । त्यसपछि भने खेल हुन सकेन ।
यससँगै नेपालले अपराजित रहँदै फाइनलमा स्थान बनाएको छ। अघिल्ला दुई खेल जितेको नेपाल तीन खेलबाट ५ अंक जोड्दै लिग चरणक शीर्ष स्थानमा रह्यो ।
अब नेपालले आइतबार हुने फाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । कुवेत समूह उपविजेता हुँदै फाइनलमा पुगेको हो।
यसअघि लिग चरणको भेटना नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । यस्तै आइतबारै हङकङ र कतारले तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।