मानव अधिकार आयोगको प्रतिवेदन माग गर्दै ओलीले दिए निवेदन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगसँग जेनजी आन्दोलन र त्यसक्रममा भएका घटनाबारे आयोगले गरेको छानबिन तथा अनुसन्धानको पूर्ण प्रतिवेदन उपलब्ध गराउन माग गरेका छन्।

अध्यक्ष ओलीका तर्फबाट एमाले नेता महेश बर्तौलाले शुक्रबार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराएका हुन्। निवेदनमा २०८२ भदौ २३ र २४ गते भएका प्रदर्शन, आगजनी, तोडफोड, लुटपाट तथा सरकारी संरचनामाथिको आक्रमणलगायत घटनाबारे आयोगले तयार गरेको प्रतिवेदन र त्यसका आधारहरू उपलब्ध गराउन आग्रह गरिएको छ।
ओलीले आयोगको बैठक नम्बर १७७ को निर्णय सार्वजनिक रूपमा आएको विवरणप्रति प्रश्न उठाउँदै निर्णयको तथ्य र सिफारिसबीच मेल नखाएको दाबी गरेका छन्। निवेदनमा आफूविरुद्ध सार्वजनिक गरिएको निष्कर्ष संविधान र कानुनसम्मत नभएको उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिहरूको भूमिकाबारे आयोगको निर्णय मौन रहेको आरोप लगाइएको छ। साथै, आफूलाई प्रत्यक्ष असर पर्ने विषय भएकाले निर्णयको आधार बनेका तथ्य, प्रमाण र अनुसन्धान प्रक्रियाबारे जानकारी पाउनु आफ्नो कानुनी अधिकार भएको उनले उल्लेख गरेका छन्।
![]() |
![]() |
![]() |
|---|
निवेदनमार्फत ओलीले आयोगको निर्णय नम्बर १७७ को प्रमाणित प्रतिलिपि, सदस्य लिली थापाको नेतृत्वमा गठित समितिको अनुसन्धान प्रतिवेदन, प्रतिवेदनमा गरिएका थपघट तथा त्यसका कारणसम्बन्धी विवरण, साथै घटनासँग सम्बन्धित सबै बयान र संकलित कागजातको प्रतिलिपि उपलब्ध गराउन माग गरेका छन्। आयोगले कानुनको पालना र पारदर्शिताको सिद्धान्तअनुसार आवश्यक कागजात उपलब्ध गराउने विश्वास व्यक्त गर्दै उनले औपचारिक रूपमा प्रतिवेदन उपलब्ध गराइदिन आग्रह गरेका छन्।



