२६ लाख बढी बीमा पोलिसी बिक्री गर्दा ४४ अर्ब बीमाशुल्क संकलन
काठमाडौँ । नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२÷८३ को जेठ मसान्तसम्म २६ लाख ५१ हजार १० वटा बीमालेख (पोलिसी) बिक्री गरी ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको जेठसम्म २५ लाख ८७ हजार ३१५ वटा बीमालेखबाट ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो।

बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले ५ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। त्यसपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ९२ करोड २ लाख रुपैयाँ तथा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ९१ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
यस्तै, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड १५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड ८२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ८० करोड २१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७६ करोड ६१ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। त्यसैगरी नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सले पनि उल्लेख्य बीमाशुल्क आर्जन गरेका छन्।
![]() |
![]() |
![]() |
|---|
जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ९ करोड ६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्, जुन गत आर्थिक वर्षको सोही महिनाको तुलनामा ३।९२ प्रतिशतले बढी हो। मासिक कारोबारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५१ करोड ५२ लाख रुपैयाँसहित अग्रस्थानमा रहँदा शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर, आईजीआई प्रुडेन्सियल र हिमालयन एभरेष्ट इन्स्योरेन्स क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा रहेका छन्।



