धनी नेपाली, मोबाइलमै खर्च गरे ६१ अर्ब
काठमाडौं। नेपालीहरूले पछिल्लो ११ महिनामै स्मार्टफोन खरिदमा करिब ६१ अर्ब रुपैयाँ खर्च गरेका छन्। भन्सार विभागको जेठ मसान्तसम्मको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२र८३ को साउनदेखि जेठसम्म २० लाख ४१ हजार स्मार्टफोन नेपाल भित्रिएका छन्।

ती मोबाइलको भन्सार मूल्य ४३ अर्ब ४५ करोड रुपैयाँ रहे पनि कर, भ्याट, अन्तःशुल्क, आयातकर्ता तथा विक्रेताको नाफा जोडिएपछि उपभोक्ताले तिरेको अनुमानित बजार मूल्य ६० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा सरकारले मोबाइल आयातबाट ८ अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व पनि संकलन गरेको छ।
तथ्यांकले नेपाली उपभोक्ताको स्मार्टफोन रोजाइ महँगा मोडेलतर्फ सरेको देखाएको छ। अहिले बजारमा १० हजार रुपैयाँदेखि साढे २ लाख रुपैयाँसम्मका स्मार्टफोन बिक्री भइरहेका भए पनि नेपालमा बिक्री हुने मोबाइलको औसत मूल्य करिब ३० हजार रुपैयाँ पुगेको छ।
![]() |
![]() |
![]() |
|---|
गत आर्थिक वर्षको तुलनामा आयातित स्मार्टफोनको संख्या करिब ३५ प्रतिशतले बढेको छ भने औसत मूल्य पनि २६ हजार रुपैयाँबाट बढेर ३० हजार रुपैयाँ पुगेको छ। यसले सस्तो फिचर फोनको प्रयोग घट्दै प्रिमियम स्मार्टफोनको माग विस्तार भएको संकेत गरेको छ।
स्मार्टफोनको बढ्दो प्रयोगसँगै प्रत्येक महिना करिब ४ अर्ब रुपैयाँ बराबरको वैदेशिक मुद्रा मोबाइल आयातमै बाहिरिरहेको छ। पछिल्लो दशकमा इन्टरनेट पहुँच, डिजिटल बैंकिङ, अनलाइन शिक्षा, सामाजिक सञ्जाल र डिजिटल सेवाको विस्तारले स्मार्टफोनलाई विलासिताभन्दा आवश्यकता बनाएको छ।
तर बढ्दो आयातले व्यापार घाटामा दबाब बढाइरहेको भन्दै सरोकारवालाले नेपालमै मोबाइल एसेम्बलिङ तथा उत्पादन उद्योगलाई प्रोत्साहन गर्न सके आयात निर्भरता र वैदेशिक मुद्रा बाहिरिने क्रम घटाउन सकिने बताएका छन्।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



