लुम्बिनी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नेपालगन्जमा सुरु हुँदै

लुम्बिनी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नेपालगन्जमा सुरु हुँदै
  • ४ बैशाख २०८२, बिहीबार ०८:५०

काठमाडौं । लुम्बिनी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आगामी वैशाख ५ देखि १२ गतेसम्म नेपालगन्ज रंगशालामा आयोजना हुने भएको छ। एक सातासम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।

रंगशालाको सरसफाइ, रङरोगन, खेलाडीको बसोबास, यातायात लगायतका सबै व्यवस्थापन कार्य सम्पन्न भइसकेको बाँके जिल्ला फुटबल संघका प्रमुख कार्यकारी अधिकृत जयनारायण शाहले बताए। उनका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरूको आगमन सुरु भइसकेको छ भने त्रिभुवन आर्मी क्लब पहिले नै नेपालगन्ज आइपुगेको छ।

प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहनेछ। सहभागी टिमहरूमा बाँके–११, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ, नेपाल पुलिस, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, भारतको सिलगुडी र रौतहट जिल्ला फुटबल संघ रहेका छन्।

बाँके जिल्ला फुटबल संघको सहआयोजनामा हुने प्रतियोगिताका विजेताले पाँच लाख पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले दुई लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछन्।