प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने हुँदैन: कांग्रेस

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएको छ ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो,’ महतले भने, ‘उहाँ(प्रचण्ड)ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’ साथै, उनले गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने बताउँदै समन्वय आवश्यक भएको बताए ।
‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको सबै थोक हुँदैन । समन्वयको आवश्यकता छ । सबैको कुरा समेट्नपर्ने आवश्यकता छ । नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता छ । डेलिभरी गर्नुपर्छ भन्ने कुरामा हामी अडिग छौं,’ महतले भने ।