राजनीतिक संकटका बीच तीन दलका शिर्ष नेता छलफलमा गर्लान संक्रमणकालीन न्याय टुंग्याउने प्रयास

काठमाडौं – संक्रमणकालीन न्यायको जटिल र लामो समयदेखि अल्झिएको मुद्दा समाधान गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा गम्भीर छलफलमा जुटेका छन्।
छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्। उनीहरूबीच द्वन्द्वकालीन मुद्दाहरू, मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसँग सम्बन्धित विषयहरूमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री ओलीका कानुनी सल्लाहकार अग्नि खरेल पनि सहभागी छन्। खरेललाई हालै प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकारको जिम्मेवारी दिएका थिए, जसपछि उनले सक्रियताका साथ संवाद प्रक्रिया अघि बढाएका हुन्।
दशकौंदेखि अल्झिएको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व चयन अझै नभएकाले संक्रमणकालीन न्याय प्रक्रियाले गति लिन सकेको छैन। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन गरिएको सिफारिस समिति (सर्च कमिटी) ले अन्तर्वार्ता र सूचीकरण प्रक्रिया पूरा गरे पनि अन्तिम नाम सिफारिस गर्न असफल भएको थियो।
छलफलमा आयोगमा पदाधिकारी नियुक्ति, कार्यान्वयनका अवरोध, द्वन्द्वपीडितको न्याय सुनिश्चितता र अन्तर्राष्ट्रिय दबाबबीच सहमति खोज्ने प्रयास भइरहेको स्रोतको भनाइ छ।
राजनीतिक सहमतिबिना आयोगका पदाधिकारी नियुक्त गर्न नसकिने अवस्थाले सरकारलाई दबाबमा पारेको छ। बालुवाटारमा भइरहेको यो छलफलले संक्रमणकालीन न्यायको भविष्यलाई दिशा दिन सक्ने अनुमान गरिएको छ।