शिक्षा मन्त्रीको राजीनामा प्रधानमन्त्रीसँग मतभेद हो कि स्वास्थ्य कारण

शिक्षा मन्त्रीको राजीनामा प्रधानमन्त्रीसँग मतभेद हो कि स्वास्थ्य कारण
  • ८ बैशाख २०८२, सोमबार १८:०६

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पदबाट राजीनामा दिएकी छन्। मन्त्री भट्टराईको राजीनामालाई सार्वजनिक रूपमा स्वास्थ्य समस्यासँग जोडिए पनि त्यसको पृष्ठभूमिमा राजनीतिक असहजता र नीति–मतभेदको गहिरो असर देखिएको छ।

भट्टराईको सचिवालयका अनुसार उनले स्वास्थ्य अवस्थाका कारण जिम्मेवारी सम्हाल्न नसक्ने भएपछि प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन्। “मन्त्रीज्यूले आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिनुभएको हो,” उनका स्वकीय सचिव अशेष पोखरेलले जानकारी दिए।

तर राजीनामाको समयबद्धतालाई हेर्दा त्यो स्वास्थ्य मात्रै होइन, हालको शिक्षासम्बन्धी आन्दोलन र सरकारभित्रको विवादसँग पनि गाँसिएको देखिन्छ। चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं केन्द्रित आन्दोलन चलिरहेको छ। शिक्षकहरू विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने मागसहित आन्दोलनरत छन्। यस्तो संवेदनशील घडीमा मन्त्रीको राजीनामा आउनु आफैँमा गम्भीर सन्देश बोकेको विश्लेषकहरू बताउँछन्।

स्रोतहरूका अनुसार प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विद्यालय शिक्षा विधेयकबारे मतभेद बढ्दै गएको थियो। भट्टराईले पार्टी बैठकहरूमा समेत प्रधानमन्त्रीले विधेयकका विषयमा सार्वजनिक रूपमा ‘जथाभाबी’ बोलेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन्।

प्रधानमन्त्री ओलीले निजी विद्यालयमा लगानी आकर्षित गर्नुपर्ने र सरकारको लगानी सुरक्षित हुनुपर्ने भनाइ राखिरहँदा, शिक्षामन्त्री भट्टराईले संविधानले प्रत्याभूत गरेको निःशुल्क र समान शिक्षा प्रणालीलाई बलियो बनाउनु पर्ने धारणा राख्दै आएकी थिइन्।

मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग भेटघाट समेत गरेकी थिइन् । त्यसक्रममा उनले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल हुँदै गरेको र यसलाई चाँडै टुङ्ग्याउन आफू प्रतिबद्ध रहेकाे बताएकी थिइन् ।

अब शिक्षामन्त्रीको रिक्त पदमा कसलाई ल्याइनेछ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ। उता शिक्षकहरूको आन्दोलन पनि जारी छ, जसको सशक्त सम्बोधन बिना शिक्षा क्षेत्रमा थप अन्योल बढ्न सक्छ।