सुनको मूल्यले कायम गर्यो नयाँ ‘रेकर्ड’, बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

काठमाडौं– सुनको मूल्य आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यको नयाँ रेकर्ड कायम गरेको छ । विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो ।
सुनको मूल्य आज प्रतितोला ६ हजार नौसय रुपैयाँ बढेर एक लाख ९७ हजार पाँचसय रुपैयाँ पुगेको छ । सोमबार सुन तोलामा १२ सय रुपैयाँ बढेर एक लाख ९१ हजार रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी आज एक हजार नौसय ७० रुपैयाँमा कारोबार भइरहेको छ । गत साता ६ दिनमै सुन तोलामा १६ हजार रुपैयाँ बढेको थियो ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बन्न थालेको हो ।
अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन् ।