ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्तपछि सरकारभित्रको असन्तोष सतहमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई पदबाट बर्खास्त गरेसँगै सरकारभित्रको आन्तरिक असन्तोष सतहमा आएको छ। तामाङले सरकारले गरेको निर्णयप्रति खुलेर असहमति जनाएपछि उनलाई पदमुक्त गरिएको हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हटाइएपछि राज्यमन्त्री तामाङले असन्तुष्टि जनाएका थिए। सरकारमा रहेर सरकारकै निर्णयको विरोध गर्नु प्रधानमन्त्री ओलीलाई चित्त नबुझेको स्रोतले जनाएका छन्। तामाङका अनुसार गृहमन्त्री रमेश लेखकमार्फत उनलाई राजीनामा दिन आग्रह गरिएको थियो, तर आफूले राजीनामा अस्वीकार गरेपछि ओलीले सिधै बर्खास्त गरेका हुन्।
बर्खास्तीपछि तामाङले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै भने, “मलाई राजीनामा गर्न भनिएको थियो, तर मैले भन्नैपर्ने कारण देखिनँ। पार्टीको सिफारिसमा मन्त्री भएको व्यक्ति प्रधानमन्त्रीले व्यक्तिगत रिसीले हटाउन मिल्दैन।”
![]() |
![]() |
![]() |
|---|
उनले आफू जनताको विश्वास लिएर सांसद बनेको र मन्त्रीपद क्षणिक रहेको भन्दै कुनै चिन्ता नरहेको उल्लेख गरे। साथै, उनले परराष्ट्र मन्त्री आरजु राणा थाइल्याण्ड जानुअघि प्रधानमन्त्री ओली आफूसँग रिसाएको जनाउँदै भेट्न चाहेको तर आफूले भेट नगरेको खुलासा गरे।
पूर्णबहादुर तामाङ गत साउन १८ गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त भएका थिए। उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकट मानिन्छन्, जसले घटनालाई सत्तारूढ गठबन्धनभित्रको शक्ति सन्तुलनसँग पनि जोडिएको देखिएको छ।
यस घटनाले सरकारले आन्तरिक असहमति व्यवस्थापनमा चनाखो नहुँदा गम्भीर राजनीतिक संकेत दिने विश्लेषकहरूको भनाइ छ। अब ऊर्जा मन्त्रालयको नेतृत्व कसले सम्हाल्ने भन्नेमा चासो बढेको छ।
Image Source: © https://mulpatra.com



