सर्वोच्चको ‘नक्कलीपत्र’ काण्ड : अधिकारी पक्राउ, रेशम चौधरी रिहा
काठमाडौं । सर्वोच्च अदालतको नक्कली पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई बुधबार पक्राउ गरिएको घटना नयाँ मोडमा पुगेको छ। पत्र पठाउने जिम्मेवारीमा रहेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रेशम चौधरी बुधबार जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रममा सहभागी हुन नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानपछि पक्राउको आधार बनेको पत्र सर्वोच्च अदालतकै अधिकृतले अनधिकृत रूपमा लेखेको पुष्टि भएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा पत्र लेख्ने अधिकृत विष्टमाथि कानुनी कारबाही प्रक्रिया सुरु भएको जनाएका छन्।
‘मुद्दा तथा रिट महाशाखाबाट लेखिएको पत्र यो अदालतको आधिकारिक निर्णय नभएको पुष्टि भएकाले उक्त पत्र कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई सूचित गरिसकिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
![]() |
![]() |
![]() |
|---|
नक्कली पत्रकै कारण केही घण्टाका लागि पक्राउ परेका चौधरीलाई आधिकारिक प्रष्टिकरणपछि रिहा गरिएको छ । घटनाले नाउपा–जनमत एकता कार्यक्रममा अवरोध पुगेको छ भने, न्यायालयभित्रैको पत्राचार प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ।
यस घटनालाई नेपाली न्याय प्रशासनमा देखिएको कमजोरीको नजिरका रूपमा लिइएको छ, जसले प्रशासनिक पारदर्शिता, उत्तरदायित्व र आन्तरिक संयन्त्रको विश्वसनीयता माथि प्रश्न उठाएको छ।
Image Source: © https://mulpatra.com



