Close

Recent Posts

शिक्षक महासंघसँग असन्तुष्ट कर्मचारी परिषद्ले जेठ ९ गतेदेखि काठमाडौंमा आन्दोलन गर्ने घोषणा

शिक्षक महासंघसँग असन्तुष्ट कर्मचारी परिषद्ले जेठ ९ गतेदेखि काठमाडौंमा आन्दोलन गर्ने घोषणा
  • १९ बैशाख २०८२, शुक्रबार १४:३३

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिमाथि असन्तुष्ट व्यक्त गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ ।

परिषद्ले शुक्रबार ७ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको हो। जसमा शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य हुनुपर्ने, हालसम्मका सहमति कार्यान्वयन हुनुपर्ने, विद्यालय कर्मचारीको विरामी विदा संचित गराउनुपर्ने, तलवमान कायम गर्नुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भक्ता दिनुपर्ने लगायत छन् ।

शिक्षक महासंघको अगुवाइमा भएको शिक्षकको आन्दोलन २९ दिनपछि शिक्षा मन्त्रालय र महासंघका पदाधिकारीबीच वैशाख १७ गते ९ बुँदेसहित भएपछि स्थगित भएको थियो । परिषद्ले महासंघको नेतृत्वले विद्यालय कर्मचारीलाई सडकमै बिना सूचना छाडिदिएको भन्दै आपत्ति जनाएको थियो ।

जेठ ९ गतेदेखि माइतीघर मण्डलामा सडक आन्दोलन

परिषद्ले आन्दोलन बब्बन मिश्राको संयोजकत्वमा परिचालन समिति समेत गठन गरेको छ । कर्मचारीले जेठ ३ गतेसम्म कार्यकक्षमै कालोपट्टी बाधेर काम गर्नेछन्। त्यस्तै जेठ ४ गते सबै पालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनबारे जानकारी दिइनेछ ।

जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्नेछ । त्यस्तै जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाइने छ ।

जेठ ७ गते ७ ओटै प्रदेशमाको सामाजिक बिकास मन्त्रालयमा आन्दोलनबारे ध्यानाकर्षपत्र बुझाइनेछ। र, जेठ ९ गतेदेखि काठमाडौँको माइतीघर मण्डलाकेन्द्रित सडक आन्दोलन हुनेछ ।