एमालेले भन्यो– डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
काठमाडौं– सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले गैर आवासीय नेपाली संघ एनआरएनए विभाजमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा नै संलग्न हुनु दुःखद रहेको भन्दै मन्त्रालयले गरेको पछिल्लो पत्राचार र निर्णय गलत रहेको प्रष्ट पारेको छ ।

एमाले केन्द्रीय कमिटी सचिव तथा विदेश विभागका प्रमुख रघुवीर महासेठले परराष्ट्र मन्त्रालयले अवैधानिक कमिटीलाई मान्यता दिन सर्वोच्च अदालतमा पत्र लेखेको भए त्यो मान्य नहुने बताएका छन् । उनले डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैधानिक रहेको बताएका छन् ।
नेपाल प्रेससँग कुरा गर्दै पूर्व परराष्ट्र मन्त्री महासेठले भने– अहिले शेष घलेको नेतृत्वमा महाधिवेशन गरेको भन्ने खालका जुन कुरा आइरहेका छन्, त्यसमा परराष्ट्र मन्त्रीको समेत भूमिका ठिक भएन । एमालेसँग वा सरकारमा कुनै सल्लाह पनि भएको छैन । डा.बद्री केसीको नेतृत्वमा भएको एनआरएनए नै वैध हो, अरु कुनै समितिको वैधानिकता रहन्न ।
![]() |
![]() |
![]() |
|---|
परराष्ट्रमन्त्री राणाकै सहभागितामा केही दिनअघि एनआरएनएको पराजित पक्षको भेलाले महेश श्रेष्ठलाई अध्यक्ष चयन गरेर नयाँ समिति गठन गरेको छ । सोही समितिलाई मन्त्रालयले मान्यता दिएको पत्रसहित सर्वोच्च अदालतमा मंगलवार यसअघिको निवेदन फिर्ताको प्रक्रिया थालिएको छ ।
मन्त्रीस्तरीय निर्णयको आधारमा महान्यायाधिवक्तामार्फत पत्र पठाइएको छ । यसैबीच एनआरएनएको आधिकारिक पक्षले आजै साँझ पत्रकार सम्मेलन आयोजना गरेको अध्यक्ष डा.बद्री केसीले बताए । कांग्रेसको एउटा पक्ष र माओवादी मिलेर एनआरएनए विभाजित गरेको आरोप छ ।



