पाकिस्तानमाथि भारतीय हमला खेदजनक भएको चीनको टिप्पणी

काठमाडौं– भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई चीनले खेदजनक भनेको छ । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् ।
यहीक्रममा बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको छ । दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता माओ निङले चीन यो परिस्थितिप्रति ‘चिन्तित’ रहेको बताएका छन् ।
उनले भारत र पाकिस्तान दुवैलाई ‘शान्त रहन, संयम अपनाउन र स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कार्य नगर्न’ आग्रह गरेका छन् ।
दक्षिण एसियाका दुई ठूला मुलुकबीच बढेको तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन्– हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ । आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ । थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ ।