लाकुरीभञ्याङको टेरेस रिसोर्टमा लडेका थिए प्रचण्ड
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार राति आफ्नो घरमा नभएर ललितपुरको लाकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा सुतेको खुलेको छ । त्यही रिसोर्टभित्र लडेपछि उनलाई अस्पताल दौडाइएको स्रोतले बतायो ।

प्रचण्ड हिजो आफ्ना परिवार र आफन्तसहित एउटा वैवाहिक कार्यक्रमका लागि उक्त रिसोर्ट गएका थिए । त्यही रिसोर्टमा उनले रात बिताएका हुन् । उनी मध्यरात लडेपछि तुरुन्तै मेडिसिटी अस्पताल ल्याइएको स्रोतले बतायो । प्रचण्डको टाउकोमा टाँका लगाइएको छ ।
छोरीज्वाइहरुसहित गएका प्रचण्डले राति खानपिनसहित रमझम गरेका थिए । उनी बिहान नहुँदै बाथरुममा लडेको बताइए पनि विस्तृत विवरण आएको छैन । अस्पतालमा उपचारपश्चात प्रचण्डलाई खुमलटार लगिएको थियो । उनी अहिले घरमै आराम गरिरहेका छन् । आज सुदुरपश्चिमका सांसदहरुले भेट्ने काम रद्द गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
प्रचण्की छोरी गंगा दाहालले बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै बुवा बाथरुममा लडेको जानकारी गराएकी थिइन् । उनले ठाउँ खुलाएकी छैनन् । प्रचण्डको निधारको बाहिरी भागमा सामान्य चोट लागेको उनले बताएकी छन् ।
प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने घरमै लडेको दावी गरेका छन् । टेरेस रिसोर्ट काठमाडौंको महँगो र विलासी रिसार्टमा पर्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव अगाडि विहान यहि रिसोर्टमा पुगेर घोषणापत्रलाई अन्तिम रुप दिएका थिए । तर उनको टोली राति बसेको थिएन ।
व्यवसायी आङछिरिङ शेर्पासहितको समूहले खोलेको यो रिसोर्टमा १२ देखि ५५ हजार रुपैयासम्मका कोठा छन् । यसमा भारतीय कुक राखिएको छ भने प्याकेजमा कोठा बेच्ने गरिएको छ ।
Image Source: © https://mulpatra.com



