Close

Recent Posts

भारत–पाकिस्तानबीच युद्धविरामको घोषणा, कूटनीतिक पहलबाट तनाव अन्त्यतर्फको आशा

भारत–पाकिस्तानबीच युद्धविरामको घोषणा, कूटनीतिक पहलबाट तनाव अन्त्यतर्फको आशा
  • २७ बैशाख २०८२, शनिबार २१:२३

दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानबीच पछिल्लो केही दिनदेखि बढ्दो सैन्य तनावपछि अन्ततः युद्धविरामको औपचारिक घोषणा गरिएको छ। दुवै देशले आज साँझ युद्धविराम “तत्काल लागू हुने” घोषणा गर्दै शान्तिपूर्ण संवादको बाटो अपनाउने प्रतिबद्धता जनाएका छन्।

mulpatra

पाकिस्तानी विदेशमन्त्री इशाक डारले ट्विटरमार्फत एक संक्षिप्त सन्देश प्रकाशित गर्दै युद्धविराममा सहमति भएको पुष्टि गरेका छन्। उता, भारतीय विदेश सचिव विक्रम मिस्रीले नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमार्फत युद्धविरामबारे जानकारी दिँदै भने, “भारतले क्षेत्रीय स्थायित्व र शान्तिका लागि युद्धविरामलाई सकारात्मक कदमका रूपमा लिएको छ।”

यो सहमति अमेरिकी कूटनीतिक पहलपछि सम्भव भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति भएको त्रिपक्षीय वार्ताबाट युद्धविरामको सहमति भएको खुलासा गरेका थिए। अमेरिकी विदेशमन्त्रीले समेत शनिबार भारतीय र पाकिस्तानी समकक्षीहरूसँग साथै पाकिस्तानी सेना प्रमुखसँग टेलिफोन वार्ता गरेका थिए।

mulpatra mulpatra mulpatra

तनाव त्यसबेला चुलिएको थियो, जब काश्मिरको पहलगाम क्षेत्रमा भएको आतंकवादी हमलामा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो। भारतले उक्त हमलाको दोष पाकिस्तानमाथि लगाउँदै सीमापार मिसाइल आक्रमण गरेको थियो। सो आक्रमणको तेस्रो दिन पाकिस्तानले पनि जवाफी कारबाही गरेको थियो।

युद्धविरामपछि सीमावर्ती क्षेत्रमा सन्नाटा छाएको बताइएको छ भने नागरिकहरूले शान्तिको सास फेरेका छन्। अन्तर्राष्ट्रिय समुदायले यो निर्णयको स्वागत गर्दै दुवै पक्षलाई संवादका माध्यमबाट समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।