खालिस्तानी अगुवा नेपालबाट पक्राउ भएको भारतीय मिडियाको दाबी, जानकार छैन नेपाल प्रहरी

काठमाडौं– ‘खालिस्तानी समूह’ का नामले चिनिने भारतीय शिख पृथकतावादी आन्दोलनका एक अगुवालाई नेपाली भूमिबाट भारतको केन्द्रीय जाँच एजेन्सी (एनआईए) नियन्त्रणमा लिएको भारतीय मिडियाको दाबी छ । तर, नेपाल प्रहरी यसबारे बेखबर छ ।
बलवीर सिंह भनिने कश्मीर सिंह गलबड्डीलाई भारतको केन्द्रीय जाँच एजेन्सी (एनआईए) को टोलीले गत शनिवार नेपालबाट पक्राउ गरेर लगेको समाचार दिल्लीबाट सञ्चालित अंग्रेजी न्युजपोर्टल द इण्डियन एक्सप्रेससहितका मिडियाले केन्द्रीय जाँच एजेन्सी (एनआईए) को हवाला दिँदै सम्प्रेषण गरिरहेका छन् । भारतीय सरकारद्वारा सञ्चालित अलइण्डिया रेडियोको वेभसाइट न्युज अनएयरले पनि त्यस्तै समाचार दिएको छ ।
चैत १५ को राजावादी प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईलाई भारतबाट पक्राउ गर्न त्यहाँको सुरक्षा निकायले गरेको सहयोगको बदलामा नेपाली सुरक्षा निकायले खालिस्तानी आतंककारी पक्राउका निम्ति सहयोग गरेको सुरक्षा विश्लेषकहरुको अनुमान छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार ती व्यक्ति नेपालमा रहेको कुरादेखि पक्राउ परेकोसम्मका विषयबारे नेपाल प्रहरी जानकार छैन । नेपाल प्रहरीका विभिन्न युनिटले देशका विभिन्न भागमा शंकास्पद व्यक्तिहरूको आवतजावत हुनसक्ने कुराको नियमित निगरानी राखिरहने बताउँदै प्रवक्ता थापाले भने, ‘न हाम्रो देशमा त्यस्तो मान्छे आएको थाहा छ, न कसैले लिएर गएकै थाहा छ ।’
एनआईएद्वारा नियन्त्रणमा लिएको भनिएका सिंह पन्जाबस्थित नाभा जेलबाट अन्य दुई बन्दीसँगै फरार व्यक्ति हुन् । नेपालका फरक फरक शहरमा कपडा व्यवसाय गर्ने आवरणमा सञ्चालित खालसा इन्टरनेशनल नामक आतंककारी समूहसँग सिंह सम्बद्ध रहेको भारतीय मिडियाहरूको दाबी छ ।
उनले नेपालका विभिन्न ६ वटा बैंकमा खाता खोलेको र क्यानडाबाट आर्थिक कारोबार हुने गरेको दाबी गरिएको छ । त्यसरी गरिएको आर्थिक कारोबार भारतमा आतंककारी गतिविधि सञ्चालनमा प्रयोग भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
बलवीर सिंहलाई पक्राउका निम्ति देखाइदिने व्यक्तिलाई एक लाखको पुरस्कार घोषणा गरिएको थियो । पन्जाब पुलिसको इन्टेलिजेन्स मुख्यालयमा भएको आतंककारी हमलाका मुख्य योजनाकार बलवीर नै थिए ।
यद्यपि, नेपालका कुनै पनि बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण आर्थिक कारोबारलाई नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईले नियमित अनुगमन गरिरहेको हुन्छ । उक्त इकाईले मङ्गलवार मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी चद्रकुवेर खापुङसहितका पदाधिकारीसँग अन्तक्र्रिया गरेको थियो ।
बलवीर पक्राउ र उनको आर्थिक कारोबारबारे नेपाल प्रेसले एआईजी खापुङलाई जिज्ञासा राख्दा हालसम्म त्यस्तो कुनै गतिविधि र घटनाको जानकारी नभएको बताए ।
‘एउटा विदेशीले नेपालका ६ वटा बैंकमा खाता खोल्ने र विदेशी मुद्राको कारोबार गर्ने कुरा नेपालमा सजिलो कुरा होइन, यदि त्यस्तो भएको भए त्यस्तो व्यक्ति त्यतिबेलै पहिचान भइसक्थ्यो’, उनले भने ।
यद्यपि, नेपाली नागरिकको प्रयोग गरेर वा अन्य कुनै किसिमले त्यस्ता गतिविधि भएका छन् भने आफूहरूले गम्भीर अध्ययन गर्ने उनले बताए ।