Close

Recent Posts

सगरमाथा संवाद आज देखि सुरु, जलवायु परिवर्तन र मानवताको भविष्यमा केन्द्रित

सगरमाथा संवाद आज देखि सुरु, जलवायु परिवर्तन र मानवताको भविष्यमा केन्द्रित
  • ३ जेष्ठ २०८२, शुक्रबार ०८:१०

काठमाडौं । नेपाल सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद २०८१’ आज काठमाडौंमा सुरु भएको छ। जलवायु परिवर्तन, पर्वतीय क्षेत्रका समस्या र मानवताको भविष्यबारे अन्तर्राष्ट्रिय बहस र समाधान खोज्ने उद्देश्यले आयोजना गरिएको यस बहुपक्षीय सम्मेलनमा १२ देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित १७५ विदेशी पाहुना सहभागी हुँदै छन्।

mulpatra

सम्वादको उद्घाटन सत्रमा भारत र चीनका विशिष्ट अतिथिहरू, कोप-२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिको जलवायु प्रतिनिधि, साथै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसद्वारा पठाइएको भिडियो सन्देश प्रस्तुत गरिने कार्यक्रम छ। उद्घाटनपछि सुरु भएको ‘प्लेनरी सेसन’ मा सहभागी राष्ट्र तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्थाहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने छन्।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा सञ्चालित संवाद व्यवस्थापन समितिका अनुसार, सम्मेलनमा राजनीतिज्ञ, नीति निर्माता, वैज्ञानिक, शोधकर्ता, नागरिक समाज तथा विकास साझेदार संस्थाहरूको सक्रिय सहभागिता हुनेछ। सार्क, बिम्स्टेक, विश्व बैंक र एशियाली विकास बैंक सहित ६१ स्वदेशी तथा विदेशी संस्थाहरूले पनि सहभागिता जनाउने छन्।

सम्भाव्यता र समाधान केन्द्रित समानान्तर सत्रहरू समेत हुनेछन र शनिवार ४:३० बजेसम्म चल्नेछन्। सम्मेलनको अन्तिम दिन विदेशी पाहुनाका लागि हिमाल अवलोकन गर्ने पर्वतीय उडानको व्यवस्था गरिएको छ भने ‘काठमाडौँ घोषणा’ जारी गरिने कार्यक्रम रहेको छ।

नेपालले जलवायु परिवर्तनको असरका बाबजुद पर्वतीय क्षेत्रको संरक्षणमा गरेको सफल अभ्यास र अनुभव विश्व समुदायसँग बाँड्ने तथा अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्ने उद्देश्यले यस संवादको आयोजना गरेको हो। संयुक्त राष्ट्रसंघले घोषणा गरेको २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष सन्दर्भमा हिमाल र ग्लेसियर संरक्षण पनि प्रमुख बहसको विषय बनेको छ।

‘सगरमाथा संवाद’ हरेक दुई वर्षमा आयोजना गर्ने सरकारी निर्णयअनुसार यो संवादलाई निरन्तरता दिइनेछ। सगरमाथाको नामबाट प्रेरित यो सम्मेलनलाई मानवताको साझा हित र सामूहिक कल्याणप्रति समर्पित बहुपक्षीय मञ्चको रूपमा स्थापित गर्ने उद्देश्य लिइएको छ।