Close

Recent Posts

हुम्लाको तिल गाउँमा भीषण पहिरो: पूर्वाधार ध्वस्त, बस्ती उच्च जोखिममा

हुम्लाको तिल गाउँमा भीषण पहिरो: पूर्वाधार ध्वस्त, बस्ती उच्च जोखिममा
  • ५ जेष्ठ २०८२, आईतवार २१:३०

काठमाडौं । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा जेठ १ गते राति ११ बजे आएको लेदोमिश्रित भीषण पहिरोले बस्ती र पूर्वाधारमा गम्भीर क्षति पुर्‍याएको छ। घटनाले स्थानीय बासिन्दा असुरक्षित बनेका छन् भने उद्धार प्रयास सीमित र प्रभावहीन देखिएको छ।

mulpatra

प्राकृतिक प्रकोपपछि जोखिममा परेका स्थानीयहरू खुला आकाशमुनि बस्न बाध्य छन्। तटस्थ र प्रभावकारी सरकारी उपस्थिति अझै देखिएको छैन।

तिलगाउँबाट बग्ने तिलचुङ खोलामा रहेका पाँचवटा काठे पुल पहिरोले बगाएको छ। पहिरोका कारण सोनाम साङमु लामाको घरको छतमा प्वाल परेको छ भने छे बुटी लामाको घर चर्किएको छ। गाउँको एक धर्मशालाको छतसमेत भत्किएको छ।

mulpatra mulpatra mulpatra

१५ किलोवाट क्षमताको जलविद्युत् आयोजना पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। मेसिन, कुलो र अन्य संरचनाहरू प्रयोगविहीन भएका छन्। करिब ४ सय रोपनी जमिन सिँचाइ गर्दै आएको कुलो र खानेपानीका स्रोत पहिरोले बगाएको छ।

घटनाको दुई दिनपछि, २ जेठमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको १३ सदस्यीय टोली घटनास्थलमा पुगेको थियो। टोलीले क्षतिको विवरण संकलन गरे पनि कठिन भूगोल र स्वास्थ्य समस्याका कारण उद्धार कार्य नगरी फर्किएको छ।

नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले बताए अनुसार “रिपोर्ट–रिपोर्ट भन्दै प्रहरीको टोली फर्कियो। जोखिम अझै कायमै छ। अहिले गाउँमा कोही छैनन्, केही पनि छैन।” उनका अनुसार, कुनै पनि सरकारी संयन्त्र वा सहायता टोली स्थायी रूपमा प्रभावित क्षेत्रमा खटिएको छैन।

Image Source: © https://mulpatra.com

दुर्गम भूगोल, कमजोर सञ्चार तथा पहुँचविहीन यातायातले उद्धार र राहतलाई थप जटिल बनाएको छ। बास गुमाएका स्थानीयहरू खुला चौरमा दिनरात बिताइरहेका छन्। स्वास्थ्य सेवा, खानेपानी र सुरक्षाको अभावमा उनीहरूको जीवन थप संकटमा छ।

स्थानीयहरूले हेलिकप्टरमार्फत उद्धार र राहतको आशा पालेका छन् तर अहिलेसम्म संघीय सरकार वा प्रदेश सरकारको तर्फबाट कुनै ठोस कदम चालिएको छैन।

अत्यावश्यक राहत र पुनःस्थापनाको अभावमा स्थानीयवासीहरू असहाय छन्। स्वास्थ्य जोखिम, खाद्यान्न अभाव र मनोवैज्ञानिक तनाव तीव्र छ। संकटग्रस्त क्षेत्रप्रति केन्द्रको ढिलासुस्तीप्रति प्रश्न उठ्न थालेको छ।

हुम्लाको तिलगाउँमा आएको यो प्रकोपले भौतिक संरचना मात्र होइन, स्थानीयको जीवन र मनोबलमा गहिरो आघात पुर्‍याएको छ। संघीय सरकार, सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रले तत्काल उद्धार टोली खटाएर सुरक्षित स्थानान्तरण, राहत सामग्री आपूर्ति र दीर्घकालीन पुनर्निर्माणको कार्य योजना ल्याउन जरुरी छ। यदि सहायता अझ ढिला भयो भने हुम्लाको यो सानो गाउँको संकट मानवीय विपद्मा परिणत हुने निश्चित छ।