गभर्नरको घनचक्करमा अल्झिएको राष्ट्र बैंकमा ओलीले कांग्रेससँग घुँडा टेके

काठमाडौं – सरकारले अर्थविद् डा.विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो । उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन् ।
मंगलबार नै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पौडेललाई गभर्नर बनाउने पूर्वसहमति भएको थियो ।
गभर्नर नियुक्ति प्रक्रियाको एक महिनामा पाँच जनाले राजीनामा दिए । गभर्नर पद खाली हुने समयदेखि नै सम्भावित पात्रहरुले आफ्नो जिम्मेवारीबाट धमाधम राजीनामा दिए । सुरुमा राष्ट्र बैंकको कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठले राजीनामा दिएका थिए ।
राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका श्रेष्ठले फागुन १८ गते नै राजीनामा दिएको भएपनि चैतको तेस्रो सातातिर मात्रै उनको राजीनामाबारे चर्चा भएको थियो । त्यसपछि नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुङ्गानाले राजीनामा दिए । चैत २४ गते गभर्नर पद रिक्त हुँदै थियो, ढुंगानाले चैत १० गतेदेखि नै लागू हुने गरी राजीनामा दिए । यसपछि पक्कापक्की भएका भनिएका डा. गुणाकर भट्टले बैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा बुझाए ।
तर,कामु गभर्नर ढुंगानाले उनको राजीनामा स्वीकृत नगरी असजिलो बनाइदिइन् ।
लगत्तै, गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले बैठक नराखेको भन्दै बैशाख ९ गते राजीनामा बुझाएर समितिबाट अलग्गिए । डा.भट्टको राजीनामा स्वीकृत नभएपछि रन्थनिएको नेपाली कांग्रेसले सिफारिस समितिका सदस्य डा.विश्व पौडेललाई नै गभर्नर बनाउनु भन्दै प्रधानमन्त्रीलाई नाम दियो । अन्तत कांग्रेसले गभर्नर पदलाई सरकार छाड्ने सम्मको च्यालेन्ज गरेपछि अन्ततः गभर्नरमा पौडेल नै नियुक्ति भए ।
आर्थिक क्षेत्रका विज्ञ पनि । तर पछिल्लो समय गत आम निर्वाचनमा पराजय भोगेपछि उनी गुमनाम जस्तै बन्न पुगे । चुनाव पछि डा. पौडेललाई कांग्रेसका नेता भनेर चिन्न थालियो । उनी सभापति शेरबहादुर देउवाका अत्यन्तै विश्वास पात्र मानिन्छन् ।
यसअघि देउवा प्रधानमन्त्री हुँदा उनी २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । पौडेलको देउवा पत्नी आरजु राणासँग व्यक्तिगत रूपमा समेत राम्रो सम्बन्ध भएको बताइन्छ । ललितपुरमा परराष्ट्रमन्त्री आरजू राणाको एउटा महंगो निजी स्कुल युलेन्स स्कूल सञ्चालनमा छ ।
आरजूको उक्त युलेन्स स्कुलमा डा. पौडेलले २०१९ देखि २०२१ सम्म बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेका थिए । डा.पौडेल विभिन्न विषयमा सञ्चारमाध्यममा गहन अध्ययन गरेर अर्थतन्त्रका विविध विषयमा लेख र जर्नल प्रकशित गर्दै आएका छन् । पौडेल नेपालको आर्थिक इतिहासबारे जानकार मानिन्छन् ।
उनले लेखेका अर्थशास्त्र तथा इतिहाससम्बन्धी लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उनी २०१२ देखि २०१३ सम्म सानिमा बैंकको डिरेक्टरको रूपमा काम गरेका थिए । त्यसपछि विश्व बैंकको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा कार्य गरिसकेका छन्। पौडेल अर्थशास्त्र र इतिहासका अध्येता हुन् ।
डा.पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । त्यसअघि उनले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका थिए । उनले चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गरेका छन्। डा। पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता हुन् ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर २०७९ सालमा पौडेलले प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार बनेका थिए ।
चुनावमा उनलाई रास्वपाका उम्मेदवार हरि ढकालले पराजीत गरे । कांग्रेसबाट उम्मेदवार भएको कारणले उनलाई पार्टीको सदस्य रहेको भन्दै उनको नियुक्ति विरुद्ध अदालतमा मुद्दा परेपनि सर्वोच्चले उनीविरुद्धको मुद्दा दरपीठ सदर गरिदियो ।