Close

Recent Posts

घरजग्गा किनबेच गर्दा बैंक स्टेटमेन्टसहित केवाईसी अनिवार्य

घरजग्गा किनबेच गर्दा बैंक स्टेटमेन्टसहित केवाईसी अनिवार्य
  • २२ जेष्ठ २०८२, बुधबार १३:२८

काठमाडौं– सरकारले ‘फाइनान्सियल टास्क फोर्स’ (एफटीएफ) को ‘ग्रे लिस्ट’ बाट देशलाई बाहिर निकाल्न घरजग्गा कारोबारमा थप कडाइ गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटेमन्ट पनि अनिवार्य गरेको हो ।

विभागले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गर्दै घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य गरेको छ । निर्देशन अनुसार घरजग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबर रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने छ ।

एफएटीफले नेपालको सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रमा बनाएका नियम कानुन कार्यान्वयनको अवस्था कमजोर रहेको भन्दै यसै वर्ष ग्रे लिस्टमा राखेको छ । नेपाललाई ग्रे लिस्टबाट बाहिर आउने समय २ वर्ष दिइएको छ ।

सरकारका अर्थमन्त्री विष्णु पौडेल भने दिइएको समयभन्दा छिटो देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउने बताउने गरेका छन् । ग्रे लिस्टबाट बाहिर ल्याउने दबाबका कारण विभागले निर्देशन मार्फत घरजग्गा कारोबार कडाइ गरेको हो ।

बैंकमार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयका हकमा १० लाखभन्दा बढीको घरजग्गा खरिद–बिक्री कारोबार गर्दा लाग्ने रजिस्ट्रेसन बापत शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट तिर्नुपर्ने छ ।

त्यसैगरी लाभकर बापत राजस्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था निर्देशनमा उल्लेख छ ।

घरजग्गा खरिद–बिक्री कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेस गरे पनि बैंक स्टेटमेन्ट अनिवार्य गरेको छ । १० लाख रुपैयाँभन्दा बढीको बैनापट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा बैंकिङ वा विद्युतीय कारोबार प्रणाली मार्फत लेनदेन भएको विवरण बैनापट्टाको कागजसाथ पेस गर्नुपर्ने व्यवस्था विभागले गरेको छ ।

त्यसैगरी अबदेखि घरजग्गा खरिद–बिक्री गर्ने खरिदकर्ता वा बिक्रीकर्ताले एक दिनमा एक पटक वा पटक पटक गरी ३ करोड वा त्यसभन्दा बढी रकमको घरजग्गा खरिद वा बिक्री गरेको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्ने व्यवस्था निर्देशनले गरेको छ ।

घरजग्गा खरिद वा बिक्रीको कारोबार शंकास्पद देखिए कार्यालय र सूचक संस्थाले त्यसको जानकारी नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइमा पठाउनु पर्ने व्यवस्था निर्देशनले गरेको छ ।

निर्देशनमा उल्लेख भएको घरजग्गा खरिद–बिक्री कारोबार गर्ने व्यक्ति भन्ने शब्दले प्राकृतिक व्यक्ति र कानुनी व्यक्ति दुवैलाई जनाउने उल्लेख छ । बैंकिङ प्रणाली मार्फत कारोबार गर्नुपर्ने घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा १० लाखदेखि माथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणाली मार्फत गर्नुपर्ने छ ।

तर, ५० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणाली मार्फत सोझै र चेक मार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेक मार्फत गर्नुपर्ने छ ।