ट्रम्प–मस्क मनमुटाव, घट्यो टेस्लाको सेयर र १५० अर्ब डलर घाटा

काठमाडौं– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति इलोन मस्कबीच बढेको मनमुटावले टेस्लाको सेयरमा असर पारेको छ । बिहीबार कम्पनीको सेयर १४ प्रतिशत घटेको हो, जसले गर्दा कम्पनीको मूल्यमा लगभग १५० अर्ब डलर घाटा भएको छ ।
विज्ञहरूका अनुसार, यो टेस्लाका लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन हो। यो घाटा ट्रम्पसँग द्वन्द्व बढ्यो भने मस्कले धेरै पीडा भोग्नुपर्ने संकेत हो । मस्क मालिक रहेको उक्त कम्पनीको सेयरमा बिहीबार ठूलो गिरावट आएको हो ।
मस्कले अमेरिकाको सरकारी दक्षता विभाग (डज) छाडेयता राष्ट्रपति ट्रम्पको आलोचना गरिरहेका छन्। पहिले एकअर्काका प्रिय उनीहरू अहिले आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
इलोन मस्कसँग वैमनस्य बढ्दै जाँदा ट्रम्पले स्पेसएक्सजस्ता मस्कका कम्पनीहरूलाई दिइएका सरकारी ठेक्का पनि समाप्त गर्ने चेतावनी दिएका छन् । तर जवाफमा मस्कले भनेका छन्, ‘तपाईं जे गर्न चाहनुहुन्छ गर्नुहोस्, मलाई मतलब छैन ।’