पूर्वीनवलपरासीको विनयी खोलामा बाढीले यात्रुवाहक बस बगायो, २४ यात्रुको सकुशल उद्धार
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ। काठमाडौंबाट नेपालगञ्जका लागि छुटेको भे १ ख ४०८५ नम्बरको बस बिहीबार राति साढे ११ बजे खोलाको भेलमा फसेको थियो।

पूर्वीनवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार बाढीको जोखिमका बीच बस फसेपछि स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा राति २ बजेसम्मको प्रयासमा बसमा रहेका २४ जना यात्रुलाई सकुशल उद्धार गरिएको हो। दुई जना यात्रु पहिले नै आफैं सुरक्षित स्थानमा पुगिसकेका थिए।
‘बस खाली भएपछि खोलाको भेलले करिब पाँच सय मिटर तलसम्म बगाएको हो,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।
बुधवार रातिदेखिको अविरल वर्षाका कारण दाउन्ने–दुम्किबास सडक खण्डमा अवरोध सिर्जना भएको छ। चिप्लो सडक, बगाइएको डाइभर्सन र पक्की पुलको अभावले गर्दा यो क्षेत्र हाल उच्च जोखिममा रहेको पाइएको छ। प्रहरीले बिहीबार बिहानै सूचना जारी गर्दै सो सडक खण्ड प्रयोग नगर्न आग्रह गरेको थियो।
यद्यपि यात्रुवाहक बस र साना गाडीका लागि दुम्किबासदेखि होङ्सी गेटसम्मको वैकल्पिक मार्ग रहे पनि धेरै चालकहरूले लामो दूरीका कारण त्यसलाई अवलम्बन नगर्ने गरेको पाइएको छ।
प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार बर्दघाटदेखि विनयी खोलासम्मको सडक अहिले सबैभन्दा संवेदनशील बनेको छ। जोखिमलाई ध्यानमा राख्दै केही दिन उक्त सडक खण्डमा यात्रा नगर्न यात्रुहरूलाई आग्रह गरिएको छ।
पुस महिनामा भारतीय ओभरलोड ट्रकका कारण विनयी खोलाको पक्की पुल भत्किएपछि अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो। सोही डाइभर्सन तर्ने क्रममा बस बाढीमा परेको हो। नयाँ पुलको निर्माणकार्य अझै सम्पन्न नभएकोले जोखिम कायमै रहेको पाण्डेले बताए।
प्रमुख जिल्ला अधिकारी पाण्डेले वर्षायामभर मालवाहक गाडीलाई अन्य नाका प्रयोग गर्न र यात्रुवाहक तथा साना गाडीलाई वैकल्पिक मार्ग छनोट गर्न आग्रह गरे। उनले बुटवलबाट पश्चिमतर्फ जाने गाडीलाई रामपुर–गैंडाकोट हुँदै कालिगण्डकी कोरिडोर प्रयोग गर्न सुझाव दिएका छन्।
