Close

बाढीपहिरोको जोखिम : बीपी राजमार्गमा १५ दिन राति सवारी आवागमन रोकिने

बाढीपहिरोको जोखिम : बीपी राजमार्गमा १५ दिन राति सवारी आवागमन रोकिने
  • ७ असार २०८२, शनिबार ०८:३०

काठमाडौं । मनसुनजन्य बाढी र पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनलाई रातिको समयमा १५ दिनका लागि रोक लगाइएको छ। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार जोखिमपूर्ण अवस्था देखिएकाले राति सवारी सञ्चालन रोक्ने निर्णय गरिएको हो।

mulpatra

ढकालका अनुसार यो अवधिमा काठमाडौँबाट पूर्वतर्फ जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङमा र पूर्वबाट काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिने व्यवस्था गरिएको छ।

गत वर्ष असोजमा आएको बाढी र पहिरोका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको करिब आठ किलोमिटर सडक खण्ड पूर्णरूपमा क्षतिग्रस्त भएको थियो। त्यस क्षेत्रमा हाल अस्थायी सडक निर्माण गरी कतै एकतर्फी, कतै दुईतर्फी सवारी सञ्चालन हुँदै आएको छ।

पूर्वी नेपाल जोड्ने छोटो तथा व्यस्त मार्गका रूपमा रहेको यो राजमार्गबाट दैनिक हजारौँ सवारी आवतजावत गर्छन्। तर मनसुन सक्रिय भइरहेकाले यात्रु सुरक्षालाई मध्यनजर गर्दै सतर्कता अपनाइएको हो।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार कुल १६० किलोमिटर लामो बीपी राजमार्गको तेस्रो खण्ड (सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्मको ३४ किमी) र चौथो खण्ड (नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको ५० किमी) गरी ८४ किमी सडक खण्डमा बाढी र पहिरोले बढी क्षति पुर्‍याएको छ।

हाल डिभिजन सडक कार्यालयले क्षतिग्रस्त सडकको पुनर्निर्माण स्थायी ढंगले गर्न चारवटा खण्डमा विभाजन गरी ठेक्का प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।

सूचनाः