Close

Recent Posts

जीवनशैली परिवर्तनमा योगको भूमिका

जीवनशैली परिवर्तनमा योगको भूमिका
  • ७ असार २०८२, शनिबार १०:२५

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विश्वभर मनाइन्छ। सन् २०१५ देखि संयुक्त राष्ट्रसंघको मान्यतापछि मनाउन थालिएको यस दिवसले योगलाई जीवनशैलीमा अपनाउने विश्वव्यापी चेतना फैलाउने कार्य गरिरहेको छ। नेपालजस्तो हिमाली र सांस्कृतिकरूपले धनी मुलुकमा योगको मौलिकता र प्रभाव झन् बढी अर्थपूर्ण छ। शरीर, मन र आत्मालाई एकसाथ सन्तुलनमा राख्ने विधिका रूपमा योग आजको तनावग्रस्त जीवनशैलीमा एक अद्भुत साधन बनेको छ। योग केवल शारीरिक व्यायाम होइन, जीवन दर्शन पनि हो।

mulpatra

योगको इतिहास हजारौँ वर्ष पुरानो छ। ऋषिमुनिहरूले ध्यान र तपस्यामार्फत योगमार्फत आत्मबोध गर्ने मार्ग पहिल्याएका थिए। पतञ्जलिको योगसूत्र योगशास्त्रको आधारशिला हो। वेद, उपनिषद, गीता, आयुर्वेदजस्ता ग्रन्थहरूमा योगलाई मानव जीवनका लागि अनिवार्य अभ्यासको रूपमा वर्णन गरिएको पाइन्छ। नेपाल र भारतमा योगको परम्परा सधैं मौलिक रूपमा जोडिएको पाइन्छ। तर आजको आधुनिक समयमा, योग अन्तर्राष्ट्रिय स्तरमा विज्ञान, चिकित्सा र मनोविज्ञानसँग पनि जोडिएको छ।

द्रुत गतिमा बदलिँदै गरेको जीवनशैली, प्रविधिमा बढ्दो निर्भरता, असन्तुलित खानपान र मानसिक तनावले मानिसमा अनेकौं समस्या ल्याएको छ। यस्तो अवस्थामा योग एकमात्र यस्तो विधि हो जसले शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति र आत्मिक सन्तुलन प्रदान गर्छ। नियमित योग गर्ने व्यक्तिहरूमा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ, उनीहरू आत्मविश्वासी र सकारात्मक सोच भएका हुन्छन् भन्ने विषय प्रमाणित नै भइसकेको छ । विशेषतः सहरिया जीवनशैलीमा काम गर्ने कर्मचारी, विद्यार्थी, गृहिणी, व्यवसायी सबैका लागि योग अनिवार्यजस्तै भएको छ।

विज्ञानले पनि अब योगका फाइदाहरूलाई स्वीकार गर्न थालेको छ। नियमित प्राणायामले फोक्सो र मुटु मजबुत बनाउँछ, ध्यानले मस्तिष्कमा सकारात्मक तरंगहरू सिर्जना गर्छ, योगासनले स्नायु प्रणाली र पाचन प्रणालीमा सुधार ल्याउँछ। डिप्रेसन, उच्च रक्तचाप, मधुमेह, थाइराइड, मोटोपनजस्ता रोगहरूमा योग निकै प्रभावकारी मानिन्छ। हाल काठमाडौं जस्ता व्यस्त शहरहरुमा धेरै योग साधना स्थलहरु खुलेका छन र त्यहाँ धेरै बिरामीहरूको योगमार्फत उपचार हुँदै गरेको भेटिन्छ र धेरैको स्वास्थ्य सुधार भएको स्वयं योगगर्नेहरुले बताउने गरेका छन् । चिकित्सक र स्वास्थ्य संस्थाहरूले पनि अब योगलाई सहायक उपचारको रूपमा प्रयोग गर्न थालेका छन्।

योग केवल स्वास्थ्य सुधारका लागि सीमित छैन, यसले सामाजिक सद्भाव र आत्मीयता पनि बढाउँछ। वर्ग, जात, धर्म, लिंग वा भूगोलका आधारमा भेदभाव नगरी सबैलाई समेट्ने योग एउटा समावेशी जीवनशैली हो। नेपालका धेरै विद्यालयहरुमा योग सिकाउन थालिएको छ । यसले बालबालिकामा अनुशासन, ध्यान केन्द्रित गर्ने क्षमता र आत्मनियन्त्रणमा उल्लेखनीय सुधार ल्याउन मद्धत गर्दछ। वृद्धवृद्धा, महिला, शारीरिक रूपमा असक्तहरू पनि योगबाट लाभान्वित हुनसक्छन।

अन्तर्राष्ट्रिय योग दिवसले विश्वभर योगप्रतिको चेतना अभिवृद्धि गरेको छ। नेपालमा पनि सरकारी र गैरसरकारी तहमा योगसम्बन्धी कार्यक्रमहरू आयोजना गरिन्छन्। विद्यालय, अस्पताल, सरकारी कार्यालय, पार्क र मन्दिरजस्ता सार्वजनिक स्थानमा सामूहिक योग अभ्यासले मानिसहरूमा सकारात्मक सोच विकास गर्न ठूलो मद्दत गरेको छ। काठमाडौंकै पनि धेरै खुल्ला स्थानहरु, पार्कहरुमा दैनिक जसो योग, व्यायाम सिकाउने गरिएको छ । यस्ता सामूहिक अभ्यासले मानिसहरूलाई ऊर्जा र प्रेरणा दिन्छ। यसले गर्दा विशेषतः युवापुस्तामा योगप्रतिको आकर्षण बढ्दै गएको देखिन्छ।

आज नेपालमा धेरै विद्यालय र विश्वविद्यालयहरूले योगलाई पाठ्यक्रमको रूपमा समावेश गर्न थालेका छन्। शिक्षाको मूल उद्देश्य केवल प्रमाणपत्र होइन, पूर्ण मानव निर्माण हो भने योग त्यसको आधार हुन सक्छ। योग शिक्षक बन्ने रुचि बढ्दो छ, योग तालिमहरू, डिप्लोमा कोर्स, र अन्तर्राष्ट्रिय प्रमाणपत्रमार्फत युवाहरू रोजगारमूलक शिक्षामा सहभागी भइरहेका छन्। नेपालका धेरै युवा भारत, चीन, युरोप र अमेरिका पुगेर योग शिक्षा दिन थालेका छन्। यसले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्यमा योगदान दिएको छ।

नेपालको प्राकृतिक सम्पदा, हिमाली वातावरण र धार्मिक ऊर्जा योग अभ्यासका लागि अत्यन्त उपयुक्त मानिन्छ। पोखरा, लुम्बिनी, नगरकोट, गोदावरीजस्ता स्थानमा योग र ध्यान शिविर सञ्चालन भैरहेका छन्, जसमा विदेशी पर्यटकहरूको आकर्षण बढ्दो छ। योग पर्यटन नेपालका लागि नयाँ सम्भावनाको ढोका हो। विदेशीहरूलाई लक्षित गरेर “योग र ध्यान पर्यटन” को विकास गर्न सके देशलाई सम्वृद्ध बनाउन सकिन्छ । नेपालको वातावरण र सांस्कृतिक योग पद्धतिबाट विदेशीहरू प्रभावित हुँदै गएका छन ।

हालको डिजिटल युगमा योग सिकाउन प्रविधिले ठूलो भूमिका खेलेको छ। zoom, youtube, facebook live जस्ता माध्यमबाट हजारौं मानिसहरू योगका भिडियो हेरेर अभ्यास गर्न थालेका छन्। प्रविधिको सदुपयोगले योग अभ्यासलाई अझ सरल र सुलभ बनाएको छ। तर यसको सँगसँगै प्रत्यक्ष शिक्षणको आवश्यकता पनि उत्तिकै रहन्छ, किनभने योगमा गुरुले दिएको प्रत्यक्ष मार्गदर्शनले गहिरो असर पार्छ।

नेपालमा अझै पनि योगलाई केवल धार्मिक वा वृद्ध व्यक्तिको अभ्यास भन्ने पुरानो धारणाले केही हदसम्म प्रभाव पारिरहेको छ। साथै, प्रशिक्षित र प्रमाणित योग शिक्षकको कमी, नीति तहमा योगप्रति स्पष्ट योजना नहुनु, र गाउँसम्म योगको पहुँच नपुग्नु चुनौतीका रूपमा देखिन्छ। तर साथसाथै अवसरहरू पनि प्रशस्त छन्—शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगार, मानसिक स्वास्थ्य, नशा मुक्ति, महिला सशक्तीकरण, बाल विकास आदिका क्षेत्रमा योगको प्रयोग विस्तार गर्न सकिन्छ।

अन्तर्राष्ट्रिय योग दिवस केवल एक उत्सव मात्र होइन, जीवनको नयाँ सुरुवातको अवसर पनि हो। योग सिक्नु केवल एउटा सीप होइन, त्यो आत्मशुद्धिको यात्रा हो। जब एक व्यक्ति योगमार्फत आफूभित्रको शान्ति र सामर्थ्य पत्ता लगाउँछ, तब उसले समाज र राष्ट्र निर्माणमा सकारात्मक योगदान दिन थाल्छ। आजको दिन हामी सबैले प्रण गरौं, नियमित योग अपनाउँ, स्वास्थ्यमूलक जीवनशैली जिउँ, र अरूलाई पनि यस यात्रामा जोडौं। योग केवल आसन होइन, यो सारा जीवनलाई समर्पण गर्ने मार्ग हो, शरीर, मन र आत्माको सामञ्जस्यको अद्वितीय विज्ञान।