हात्ती पिडीत बाहुन्डाँगीबासीले आनन्दले सुत्ने दिन कहिले आउँछ ?

काठमाडौं । हात्ती भन्ने वित्तिकै हिन्दु संस्कारमा गणेश भगवानको प्रतिकको रुपमा लिइन्छ । तर झापाको बाहुन्डाँगी बासीका लागि भने हात्तीलाई भगवान होइन दुःखको प्रतिकको रुपमा लिइन्छ । हात्ती मात्र होइन हिन्दु संस्कारमा गणेग भगवानको प्रतिक फोटो देखे ढोग्ने गरे पनि धेरै बाहुन्डाँगीका बासिन्दालाई पटका पड्काउन मन लाग्ने केही पिडीतको भनाई छ ।
बाहुन्डाँगी बासीलाई हात्तीले दिएको पिडामा मल्हम लगाउने प्रयास स्वरुप संघिय सांसद विश्वप्रकाश शर्माले हात्ती रोकथामका लागि संघिय मन्त्रीसँग छलफल गरेका छन् । २०७९ को चुनावी मुद्धा नै बनेको थियो हात्ती रोकथाम ।चार दशक लामो समस्या र विभिन्न चुनौतिका बावजुद वर्तमान सांसद विश्वप्रकाश शर्माले गरेका चुनावी बाचा पुरा गर्न तल्लिन देखिन्छन ।
संघिय वनमन्त्रीलाई बुझाईको ध्यानाकर्षण पत्रमा उल्लेखित महत्वपुर्ण बुँदाहरुले हात्ती समस्या समाधान गर्न राज्य अग्रसर भए, स्थानीय रैथाने हात्तीको व्यवस्थापन, हात्ती पिडीतहरुको सुनुवाई र भारतबाट दिनहुँ आउने हात्ती रोकथाम गर्न बाटो खोल्ने कुराले बाहुन्डाँगी बासीलाई निन्द्रा लगाउने छ ।
काठमाडौं सम्पर्क समितिका सभापति प्रज्वल कोइराला, राजेन्द्र खनाल लगायतका अग्रजहरुले वर्तमान सांसद विश्वप्रकाश शर्माको अगुवाईमा भएको वनमन्त्री सँगको छलफलले बाहुन्डाँगीको हात्ती समस्याको समाधानका लागि केही समस्याहरुको पहिचान गरेको छः मेची नदिमा तिरिङ सिरानबाट सुरु गरिएको सडकसहितको हाइ ड्याम निर्माणको निरन्तरता, सोलार फेन्सिङलाई चुस्त दुरुस्त राख्न नियमित बजेटको व्यवस्थापन, सोलारमा क्षति पुर्याउने, ब्याट्रि तार जस्ता वस्तुहरु चोरी गर्नेको खोजी गरि कारवाही गर्ने, प्रभावित क्षेत्र र कोरिडोरमा सडक बत्तीको व्यवस्थापन, हात्तीबाट भएका क्षतिहरुको तत्काल भरण हुनुपर्ने व्यवस्था, हात्तीबाट बच्न आवश्यक कार्यहरुको प्रशिक्षण, सोलार फेन्सिङ र रात्रिकालिन रेखदेख गर्न श्रोत साधनको व्यवस्था, हात्तीबाट जोगाउन हात्तीले नष्ट नगर्ने खालका बोट विरुवा र बाली नाली लगाउन राज्यको सहयोगको आवश्यकता जस्ता विषय जस्ता महत्वपूर्ण विषयमा संघिय वनमन्त्रीले दिएको आव्वासन महत्वपुर्ण छ तर त्यो भन्दा बढी महत्वपूर्ण छ स्थानीय बासिन्दाको सक्रियता, अगुवाई र समस्याको चुरो पहिल्याउने काम ।
विगत १४ बर्ष देखिको हिसाव गर्दा मात्र झापामा ६६ जनाले हात्तिको आक्रमणमा परि ज्यान गुमाएका छन् । सयौँ घरबार विहिन भएका छन् । विस्थापित भएका छन् । त्यसमध्ये अधिकांश बाहुन्डाँगी र मेचिनगरका छन् । हात्तीले मान्छे मार्ने मात्र होइन मान्छेले हात्ति मार्ने क्रम पनि चलिरहन्छ झापामा । २४ वटा भन्दा बढी हात्तिहरु विभिन्न स्थानमा मृत भेटिएकाले सो कुराको पुष्टि गर्छ ।
हात्तिबाट पिडितहरुको दुःख एकातिर हुँदाहुँदै पनि त्यहि दुःखमा खेल्नेहरु धेरै भएको हात्ति पिडितको गुनासो छ । केही अगुवाहरुको पहलमा हात्तीलाई पर्यटनसँग जोड्ने नारा चल्यो तर स्थायी समाधान त्यो थिएन र भएन पनि, केहीले फाइदा लिए तर समस्या ज्युँका त्युँ । हात्ती कहिलेकाही देख्ने र परबाट हेर्नेका लागि पर्यटन जस्तो देखिएको पनि दैनिक रातभर जाग्राम बस्नुपर्नेहरुका लागि पिडा भन्दा अरु केही होइन । चार दशक देखि हात्तिले दुःख दिइरहेको बाहुन्डाँगी बासीले धेरै नेताहरुको आश्वासन पाए तर स्थायी शान्तिको लागि वा स्थायी समाधानको लागि काम नभएको र नेताहरु भोटसँग हात्तिको समाधान गर्ने नारा साट्न खोजेको आरोप लाग्न थालेको छ बाहुन्डाँगीमा ।
हात्तीको समस्या बाहुन्डाँगी, मेचीनगर, झापामा मात्र सिमित छैन त्यही समस्यालाई विदेशी संस्थाले समेत अध्ययन गरे । ति संस्थाले समेत समाधानको बाटो भन्दा हात्तिको हिड्ने बाटोलाई बढी मान्यता दिए । अमेरिकी संस्था समेत जोडियो अध्ययनमा, तर हात्तिबाट पिडीतहरुको संख्या दिनानुदिन बढीरहेको छ बाहुन्डाँगीमा ।
जंगली जनावारको देश हुँदैन, जुन देशमा छिर्यो त्यही देशका गनिन्छन तिनीहरु । बाहुन्डाँगीको पिडामा भने भारतीय हात्ति नै हावी छन् । रातभरि आउने बालीनाली खाने, घर भत्काउने र भारत तिरै छिर्ने । यो क्रम ३६ साल अघि देखि भोगिरहेका छन् बाहुन्डाँगी र मेचीनगर बासीले । हात्तीबाट झापाबासी पिडीत भएपछि ३६ साल तिरै हो तत्कालिन पञ्चायतका नेता केशव कुमार बुढाथोकीको अगुवाईमा प्रहरी र सेनाको सहयोगमा भारतीय हात्तिलाई खेदाउँदै जाँदा पाँच वटा हात्ति सरकारी संयन्त्रबाटै मारेका । त्यहाँ देखि हात्तिको नेपाल आउने क्रम केही बर्ष कम भएपनि समस्या भोगिरहनेमा बाहुँडाँगी बासी नै प्रथम छन् । उनीहरु जति सम्भवतः जंगली हात्तीबाट पिडीत नेपालमा कोही छैन । नेपालमा रैथाने एक दुई हात्तीले दुःख दिने चितवन, वर्दियाका अगाडी सयौँ हात्ती एकैपटक आउने बाहुन्डाँगी बासीका लागि सबैभन्दा पिडाको अनुभुति छ ।
२०७२ साल अघि आफ्नो बारीमा फलेको मकै पोलेर खान नपाएका बाहुन्डाँगी बासीहरु तत्कालिन संविधानसभा सदस्य रविन कोइरालाको पहलमा एनटिडिसीको सहयोगमा अठार किलोमिटर सोलार फेन्सिङ लगाएपछि केही बर्ष आरामसँग सुते, बारीको मकै खाए, धान फलाए, अठार किलोमिटर तल माथिबाट छिरेका एक दुई हात्ती बाहेक २०७८ साल सम्म धेरै आरामसँग सुते बाहुन्डाँगी बासी तर ति दिन धेरै समय रहेन ।
नेपाल सरकारको शसस्त्र प्रहरीले नेपालको पुर्वि सिमाना मेची खोलामा हरेक सय मिटरमा तस्करी रोक्न प्रहरी परिचालन गरेपछि तस्करीको रुट फेरियो तस्करी फेरिएन त्यसैका लागि हात्तीका लागि लगाइएको सोलार फेन्सीङको तार काटियो, बेट्री चोरियो, मेची नदीका ढुंगा, गिटी, बालुवा चोरियो र सोलार फेन्सिङ फोरियो । ती तार, बेट्री चोर्न, ढोका सधै खुल्ला राखिराख्न बाहिरका मान्छे आए आएनन ? खोजीको विषय छ र स्थानीय सबै लागे चोरी जस्ता कुराको तत्काल समाधान हुने पनि देखिन्छ । सबैले छर्लङ्ग देखेको कुरा छ, तस्करी हुने बाटो अहिले पनि त्यही हो । प्रहरी, स्थानीय, समाजसेवी, नेता, कार्यकर्ता सबैले बुझ्दा बुझ्दै पनि तस्करी रोकिँदैन र तस्करीका लागि विद्युतीय तारबार सह्य हुँदैन । त्यहि भएर तारबारको व्याट्रि चोरी भइरहन्छ, तार काटिइरहन्छ र आवत जावत गर्ने ढोका खुल्लै राखिरहिन्छ । बुद्धिमान मानिसले यति बुझिरहेको बेला बुद्धिमान जनवार मध्येको हात्तीले सुकेको काठ ल्याई फेन्सिङमा फाल्ने र बाटो क्रस गर्ने अनुभव भोगीसकेको पश्चिम बंगाल, आसाम, बंगलादेश घुमिरहने हात्तीले नेपालमा चोरिएको व्याट्रिका कारण नभएको करेन्ट, काटिएको तार र ढुंगा, गिटी बालुवा बोक्न खोलिएको ढोका नचिन्ने कुरै भएन । त्यही बाटो पहिल्याउँदै हो अहिले पचासौको समुहमा आउने हात्ति ।
हात्ती आउँदा दुःख पाउने मात्र छैनन बाहुन्डाँगीमा हात्ती देखाएर काम गर्न खोज्नेहरु पनि छन् । अहिले रातको समयमा मात्र होइन लाखौ खर्च गरेर हात्ति पार्क समेत बनाइएकोले दिउँसो समेत लिखुरे हात्ती हेर्न पाइन्छ त्यहाँ शालिकमा । धेरैले त्यसलाई ‘दुःखको प्रतिमा’ भनेर समेत जिस्क्याउने गरेका छन् । हात्तिको प्रतिमा खडा गरिएको छ सरकारी खर्चमा । पुर्व सांसद नेकपा माओवादीका सचिव राम कार्कीको भनाईलाई मान्ने हो भने दिनहुँ हात्ती आउने ठाउँमा हात्तीको प्रतिमा बनाइनु कति उचित छ खोजि गरिनु पर्छ । जहाँ साँझमा लाइभ हात्ती हेर्न पाइन्छ त्यहाँ सरकारी खर्चमा हात्तीको प्रतिमा राख्नुको के अर्थ ? त्यसलाई सकारात्मक रुपमा लिन पनि सकिन्छ त्यसले आन्तरिक पर्यटनलाई भने केही भरोसा गर्न सक्ने छ । हात्ती रोकथाममा सोही क्षेत्रका पुर्व सांसद राम कार्की पनि लागेका थिए । विग्रिएको सोलार फेन्सिङ मर्मत गर्न र झापाको जलथल देखि बाहुन्डाँगीसम्म हात्ती कोरिडोरको रुपमा सोलार फेन्सिङ जडान गर्न पहल गर्नमा ।
हुन पनि अहिले झापाको जलथल देखि चारआली, बुधबारे, मागुरमाडी, पाँचपोखरी जंगलमा सोलार फेन्सिङ जडान गरियो हात्ती कोरिडोर बनाउन र हात्ति गाउँ नपसोस भन्न तर ती फेन्सीङबाट हात्तीले चै अब जंगल होइन गाउँ गाउँ हिड्नु पर्ने रैछ भनेर बुझेछ क्यारे जंगल तिर छिर्नै मान्दैन गाउँ पसेको हात्ती । त्यो पिडा बाहुन्डागीले मात्र होइन मेचिनगरका जंगलसँग जोडिएका तेलपानी, शान्तिनगर, थोप्लेविरान, मागुरमाडी, धाइजन, चारआली, चन्द्रगडीसम्मकाले व्यहोरिरहेका छन् ।
सोलार फेन्सिङले मात्र काम गरेन बाँध, बाटो सहितको हाइ ड्याम बनाउन सके हात्ती छिर्न कम गर्न सकिन्छ भनेर हाइ ड्याम सहितको संरचना बनाउन शुरु गरिएको छ तिरङबाट, तर त्यसको पनि बजेट अभावले काम अघि बढ्न सकेको छैन ।
यी पिडाहरुलाई बुझ्ने कोसिस गरेका छन वर्तमान संघिय सांसद विश्वप्रकाश शर्माले । हात्ती रोकथाम गर्न बरु सजिलो होला तर हात्तीमा हुने राजनीति रोक्न गाहे छ बाहुन्डाँगीमा । हात्ती रोक्नलाई तस्करी रोक्न जरुरी छ, यति हुने हो भने व्याट्रि चोरि हुने, ढोका खुल्लैरहिरहने, हेरालुले दोष पाइरहने, तार काटिइरहने समस्या तत्काल समाधान हुन्छ । अर्को उत्तम हाइड्याम होला तर दुई देशबीचको सिमा नदी भएकाले त्यसलाई सहजै बजेट व्यवस्थापन गर्न र नेपालले रातारात हाइड्याम बनाउन चुनौति छन् । भारतीय पक्षले नेपाललाई नसोधी बनाएको बाँध जसरी नेपालले काम गर्न सक्नु पर्छ । यी चुनौति पार गर्न जति संघिय सरकारसँग छलफल हुन्छ अझ धेरै छलफल स्थानीयसँग गर्न जरुरी छ । सचेतना बनाउन जरुरी छ त्यो भन्दा महत्वपूर्ण कुरा हात्तीमा हुने राजनीतिलाई अन्त्य गर्न जरुरी छ । यी बर्गेल्ती समस्या र चुनौतिका विच वर्तमान संघिय सांसद विश्वप्रकाश शर्मासँग बाहुन्डाँगी बासीले अपेक्षा गरेका छन्, फेरी देखिको चुनावमा कुनै पनि पार्टीले हात्तीको मुद्धा बनाउन नपाओस ।