Close

Recent Posts

नेपाल डेरी एसोसिएसनको आयोजनामा “दही चिउरा खाने विशेष कार्यक्रम – २०८२” सम्पन्न

नेपाल डेरी एसोसिएसनको आयोजनामा “दही चिउरा खाने विशेष कार्यक्रम – २०८२” सम्पन्न
  • १३ असार २०८२, शुक्रबार १५:१४

काठमाडौँ । नेपाल डेरी एसोसिएसनको आयोजनामा परम्परागत संस्कृति र कृषि क्षेत्रप्रतिको सम्मान स्वरूप आयोजित “दही चिउरा खाने विशेष कार्यक्रम – २०८२” भव्य रूपमा सम्पन्न भएको छ। असार १५ को सांस्कृतिक, पोषणीय र कृषिपरक महत्वलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताएका छन् ।

mulpatra

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीको उपस्थिति रहेको थियो। उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल विशेष अतिथिका रूपमा सहभागी रहेका कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका सदस्यहरु तथा कृषि उद्यम केन्द्रका सभापति डी.बी. बस्नेत, लघु, साना तथा घरेल उद्योग समिति सभापति नरेन्द्र खड्का, कृषि उद्यम केन्द्रका उपसभापति तथा नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की, रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाई, एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे, नेपाल निर्यात परिषदको अध्यक्ष नरेशलाल श्रेष्ठ लगायत लगायत डेरी क्षेत्रका अगुवा, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रह्यो।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री अधिकारीले कृषि र डेरी क्षेत्रलाई समृद्ध बनाउनेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिँदै किसानले उत्पादन गरेको दूधको भुक्तानी समयमा हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए। उनले डेरी व्यवसायीहरूलाई किसानप्रति उत्तरदायी हुन आग्रह गरे। साथै, उनले देशमा रासायनिक मलको माग अनुसार आपूर्ति गर्न नसकेको अवस्था पनि दुःखद भएको उल्लेख गरे।

mulpatra mulpatra mulpatra

कृषि मन्त्री अधिकारीले स–साना बालिकाहरूलाई दही चिउरा खुवाउँदै कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए । कार्यक्रममा उपस्थित वक्ताहरूले कृषि तथा डेरी क्षेत्रको विकास, किसानप्रतिको सम्मान र सांस्कृतिक सम्पदाको संरक्षणमा यस्ता कार्यक्रमहरूको योगदानको सराहना गरे।

कार्यक्रमकै अवसरमा पाटन औद्योगिक क्षेत्रस्थित श्री नवप्रभात डेरी उद्योगले उत्पादनमा ल्याएको नयाँ दही ब्राण्ड “राजा दही” को औपचारिक सार्वजनिक घोषणा गरियो। उक्त ब्राण्डको उद्घाटन मन्त्री अधिकारी, महासंघ उपाध्यक्ष ढकाल र एसोसिएसन अध्यक्ष दाहालले संयुक्त रूपमा गरेका थिए ।

राजा दहीलाई स्वास्थ्यवर्द्धक, स्वच्छ र पोषणयुक्त परिकारका रूपमा प्रस्तुत गरिएको जानकारी नवप्रभात डेरी उद्योगका प्रतिनिधिहरूले दिएका थिए। यसअघि नवप्रभातले “नवप्रभात मोही” नामक ब्राण्डमार्फत मोही उत्पादन र वितरण गर्दै आएको थियो।

Image Source: © https://mulpatra.com

नेपाल डेरी एसोसिएसनले जारी गरेको प्रेस विज्ञप्तिमा असार १५ लाई ‘मानो रोपेर मुरी फलाउने’ धान दिवसका रूपमा मनाइने परम्परा उल्लेख गर्दै सो दिन देशभर झन्डै ८० लाख लिटर दही खपत हुने र करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ।

दही चिउरा केवल परम्परागत परिकार नभई पोषणको दृष्टिले पनि लाभदायक रहेको उल्लेख गरिएको विज्ञप्तिमा दहीमा पाइने प्रोटिन, क्याल्सियम, भिटामिन डी र प्रोबायोटिकले पाचन प्रणाली सुदृढ बनाउने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र मानसिक स्वास्थ्यमा समेत सकारात्मक असर पार्ने जानकारी दिइएको छ।

नेपाल डेरी एसोसिएसनले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै, दुग्धजन्य उत्पादनको प्रवर्द्धन, किसानको हित संरक्षण तथा नेपाली सांस्कृतिक पहिचानको प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य लिएको अध्यक्ष दाहालले बताएका छन् ।
अध्यक्ष दाहालले दही चिउरा नेपाली परम्पराको अभिन्न हिस्सा भएको उल्लेख गर्दै असार १५ मा यस परिकारको सेवनले किसान, कृषक तथा डेरी व्यवसायीप्रतिको सम्मान प्रकट हुने बताए। साथै, यस्ता कार्यक्रमले दुग्ध व्यवसायको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।