Close

Recent Posts

बीमा क्षेत्रमा ‘क्रस होल्डिङ’ हटाउने प्रक्रिया सुरु

बीमा क्षेत्रमा ‘क्रस होल्डिङ’ हटाउने प्रक्रिया सुरु
  • २६ असार २०८२, बिहीबार १०:५०

काठमाडौँ– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरुमा रहेको ‘क्रस होल्डिङ’लाई अन्त्य गर्न प्रयास थालिएको बताएका छन् ।

mulpatra

प्राधिकरणले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनका दौरान यस्तो बताएका हुन् ।

‘बीमा ऐनले दिएको समय सीमा सकिइसकेको छ’, उनले भने, ‘हामी अध्ययन गर्ने चरणमा छौँ । पहिचान गरेर कारबाही अघि बढाउँछौँ ।’ प्राधिकरणले उक्त व्यवस्था हालसम्म कार्यान्वयन भइनसकेको जनाएको छ ।

mulpatra mulpatra mulpatra

पत्रकारको प्रश्नमा जवाफ दिँदै अध्यक्ष ओझाले ‘कम्पनीहरुको स्वामित्व हेर्दा धेरै ठाउँमा कानूनी व्यक्ति सेयरधनी हुने भएकाले’ यो व्यवस्थाको कार्यान्वयन केही चुनौतीपूर्ण रहेको बताए ।

एउटा कम्पनीको स्वामित्वमा अर्को कम्पनी र त्यसको स्वामित्वमा अर्को कम्पनी खोल्ने परिपाटी नेपालमात्र होइन, संसारभर नै छ । यस प्रकारको ‘खातका खात’ कम्पनी खोलेर कतिपय नियामकीय प्रावधान र बेलाबखत राजस्व छल्ने गरेको समाचारहरु आइरहेका हुन्छन् ।

नेपालमा पनि ठूला कम्पनीहरु नै विदेशमा दर्ता भएका कम्पनीहरुको स्वामित्वमा हुँदा सरकारले यस प्रकारको अड्चन सामना गर्नु परिरहेको छ । अहिले बीमा क्षेत्रमा पनि त्यस्तै समस्या देखिएको हो ।

Image Source: © https://mulpatra.com

यसले गर्दा अन्तिम हिताधिकारी अर्थात् कुनै पनि कम्पनीको वास्तविक सेयरधनी (मान्छे) पहिचान गर्न कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, अंशबण्डा वा छुट्टाभिन्न भएर बसेका परिवारको स्वामित्वले पनि यस प्रक्रियालाई अलमल्याइरहेको उनले बताए । एकाघर परिवारकै सदस्य देखिए पनि कानूनी रुपमा उनीहरु अंशबण्डा गरेको देखिने र अलग अलग हक दाबी गर्ने भएकाले पनि क्रसहोल्डिङको विषय टुंग्याउन केही कठीनाइ देखिएको अध्यक्ष ओझाले बताए ।

यसका लागि यथार्थ व्यक्ति पहिचान गर्ने खालको प्रणाली तयार पार्नुपर्ने आवस्यकता देखिएको छ । त्यसपछि क्रस होल्डिङ सम्बन्धी ऐनको पूर्ण कार्यान्वयन सम्भव हुने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले पनि करीब ४ वर्ष अघिमात्रै बैंकहरुको अन्तिम हिताधिकारीको खोजि गरेको थियो । तत्कालिन गभर्नर महाप्रसाद अधिकारी र उनको टीमले असाध्यै मिहेनत गर्दा पनि सबै बैंकको वास्तविक अन्तिम हिताधिकारी फेलापार्न नसकेको भनेर राष्ट्र बैंककै अधिकारीहरुले भन्दै आएका छन् ।

तथापि, बीमा प्राधिकरणले अहिले नै क्रसहोल्डिङ सम्बन्धी नयाँ प्रस्तावहरुलाई भने ऐनको व्यवस्था स्मरण गराउँदै अस्वीकार गरिरहेको एक बीमा कम्पनीका सञ्चालकले जानकारी दिएका छन् ।

बीमा ऐनको दफा २५ (३)मा ‘एक जना व्यक्ति वा निजको एकाघरको परिवार वा निजको एकाघरको परिवारको सदस्य आधारभूत सेयरधनी रहेको कुनै कम्पनी वा संगठित संस्थाले यस दफा बमोजिम स्थापना हुने बीमा कम्पनीको चुक्ता पूँजीको १५ प्रतिशतभन्दा बढी हुनेगरी सेयर लगानी गर्न सक्ने छैन’, भनिएको छ ।

त्यस्तै, ऐनको दफा ४६ मा ‘यो ऐन प्रारम्भ हुनुअघि कसैले कुनै बीमकको यस ऐनमा उल्लेख भएभन्दा बढी संख्यामा सेयर लिएको रहेछ भने निजले त्यसरी बढी हुन आउने सेयर यो ऐन प्रारम्भ भएको दुई वर्षभित्र विक्री वितरण गरिसक्नु पर्ने छ’, भनिएको छ ।

यो ऐन प्रमाणिकरण भएको मितिले दुई वर्षको अवधि गत असोज २३ मै पुरा भएको हो । ऐनले दिएको समयसीमा नाघेको ९ महिना भइसक्दा पनि बीमा क्षेत्रमा क्रसहोल्डिङको समस्या कायमै रहेको प्राधिकरणका अधिकारीहरुले बताउँदै आएका थिए ।

अब कुनै व्यक्ति वा कम्पनी तथा फर्मले बीमा कम्पनीमा १५ प्रतिशतभन्दा ज्यादा स्वामित्व ग्रहण गर्न सक्ने छैन । त्यस्तै उक्त कम्पनीले उस्तै प्रक्रितिको अर्को बीमा कम्पनीमा १ प्रतिशतभन्दा बढी सेयर लिन पनि पाने छैन । बीमा ऐनले १ प्रतिशत वा त्योभन्दा बढी स्वामित्व रहनुलाई ‘आधारभूत सेयरधनी’ भनेर व्याख्या गरेको छ । तर १ प्रतिशतभन्दा कम स्वमित्व चाहीँ जतिपनि कम्पनीमा लगानी गर्न छुट दिइएको छ ।