युरोप व्यक्तिगत श्रम स्वीकृति इमेलकै भरमा, खाडी–मलेसिया अनिवार्य प्रमाणिकरण, म्यानपावर–कन्सल्टेन्सीको ठगि धन्दा

काठमाडौं– वैदेशिक रोजगारीको खोजीमा व्यक्तिगत भिसामा जान नेपाली कामदार वर्षेनी बढ्न थालेका छन् । व्यक्तिगत श्रम स्वीकृति जाने कामदार बढेसँगै यसका नाममा ठगि समेत बढ्न थालेको छ ।
वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा व्यक्तिगत भिसामा जाने कामदारले अब इमेलमार्फतै श्रम स्वीकृति लिन सक्ने व्यवस्था छ । तर खाडी मुलुक र मलेसियातर्फ व्यक्तिगत भिसामा जान चाहने नेपाली कामदारलाई भने नेपाली दूतावासबाट अनिवार्य प्रमाणीकरण गराउनु पर्ने नियम कायमै छ ।
चालु आर्थिक वर्षमा मात्र २ लाखभन्दा बढी नेपाली युरोप, खाडीका देश र मलेसिया व्यक्तिगत भिसामा श्रम स्वीकृति लिएर गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ ।
युरोप, अफ्रिका, दक्षिण कोरिया, जापान, क्यानडाबाट जाने कामदारका हकमा भने रोजगारदाता देशले पठाएको इमेलकै भरमा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति जारी गदै आएको छ । तर खाडीका देश मलेसियाका हकमा भने व्यक्तिगत श्रम स्वीकृति अनिवार्य कुटनीतिक नियोगको का दूतावासले नै प्रमाणिकरा गर्नुपर्ने व्यवस्था छ ।
व्यक्तिगत श्रम स्वीकृति पछिल्लो समय ठगीको ठूलो जालोमा फसिरहेका छन् । म्यानपावर कम्पनी वा दलालहरूले ईमेल, सामाजिक सञ्जाल वा नक्कली अफर लेटरमार्फत कामको लोभ देखाई युवाहरूलाई लाखौँ रुपैयाँ असुली ठगी गर्दै आएका छन् ।
व्यक्तिगत श्रम स्वीकृतिमा प्रक्रिया मिलाउन भन्दै ५० हजारदेखि २ लाखसम्म पैसा म्यानपावर कम्पनी, एजेन्ट र कन्सल्टेन्सीले कामदारसँग उठाउँदै आएको पाइएको छ । म्यानपावर कम्पनी, एजेन्ट र कन्सल्टेन्सीले देशअनुसार ११ लाखसम्म लिएको पाएइको छ । नक्कली अफर लेटर, कामदारको माग युरोप जाने कामदारका हकमा नक्कली इमेल प्रयोग गरेको उजुरी वैदेशिक रोजगार विभागमा आउने गरेको छ ।
व्यक्तिगत श्रम स्वीकृतिमा जाने कामदार बढेसँगै यस क्षेत्रमा विकृति समेत बढिरहेको वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रकुमार सिवाकोटीले बताएका छन् । व्यक्तिगत भिसामा धेरै कामदार ठगिएको उजुरी विभागमा आउँछ । व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाउने भनेर लाइसेन्स लिएका म्यानपावर र कन्सल्टेन्सीहरु रहेको उनले बताए ।
नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न अनिवार्य गरेको व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया युरोपतर्फ लचिलो बनाइएको छ । भने खाडी र मलेसिया जस्ता श्रमिक गन्तव्य देशमा अझ कडाइ गरिएको छ ।
व्यक्तिगत श्रम स्वीकृतिमा सरकारले दुईथरी प्रक्रिया राख्दा यस क्षेत्रमा ठुलो ठगि भइरहेको पत्रकार अनिल अधिकारी बताउँछन् । हाल मात्र कुवेत, साउदी र कतारमा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको समस्याका बारेमा अध्ययन गरेर फर्किएका पत्रकार अधिकारी अनुसार सरकारले व्यक्तिगत भिसामा खाडी देश र मलेसियामा केही कडाइ गरेपनि युरोपका हकमा इमेलको भरमा श्रम स्वीकृति दिने व्यवस्था गलत भएको बताए । ‘युरोपका देश व्यक्तिगत श्रम स्वीकृतिमा जाने कामदारका हकमा रोजारदाता कम्पनीको इमेल कम मात्र आउने गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा धेरै सेटिङ ठगि छ । मैले यस विषयमा धेरै पीडितसँग कुराकानी समेत प्रत्यक्ष गरेको छु ।’ उनले भने ।
यो प्रक्रिया अवैध मात्र होइन, नेपाली कामदारहरूका लागि अत्यन्त जोखिमपूर्ण र म्यानपावर र केही कन्सल्टेसीलाई सजिलो भएको उनको भनाइ छ । व्यक्तिगत भिसा देखाएर ठगी हुने घटना बढ्दैछ। जनचेतना नहुदाँ दलालहरू मौलाउँदै गएको उनको बुझाइ छ ।
व्यक्तिगत भिसा भनेको कुनै कम्पनी वा व्यक्तिगत मालिकले कामदारलाई सिधै बोलाउने प्रक्रिया हो । जुन अवसर सीप भएका कामदारलाई रोजगारदाताको सिफारिसमा दूतावासमार्फत प्रदान गरिन्छ । तर नेपाल सरकारको अनुमति वा श्रम स्वीकृति नलिई यसरी विदेश जानु जोखिमपूर्ण हुन्छ । यसका फाइदा केही म्यानपावर कम्पनी र कन्सल्टेसीले लिइरहेको अधिकारीको आरोप छ ।
पैसा लिएपछि दलाल वा नक्कली एजेन्ट सम्पर्कविहीन हुन्छ । भिसा र टिकट पनि बनावटी हुनसक्छ, जुन एयरपोर्टमा मात्र थाहा हुन्छ । धादिङका एक युवकले भने ‘इमेलमा अफर आएपछि विश्वास गरेँ, म्यानपावर नजाने भनेर ढुक्क भएँ। पैसा पठाएपछि न त टिकट आयो, न भिसा। सम्पर्क पनि टुट्यो ।’ उनले भने ।
युएईमा १ हजार ५ सय डलर तलब, कतारको होटलमा आकर्षक सुविधाू भन्दै इमेलमा अफर लेटर पठाइन्छ । युरोप र अफ्रिकी देश जाने कामदारका हकमा ३ लाखभन्दा बढी कमाइ हुन्छ भनेर म्यानपावर र कन्सल्टेन्सीले ठगि गरेका छन् । हामी पछिल्लो समय खोजी गरिहेको एक रिपोटिङमा वैदेशिक रोजगार व्यवसाय संघका पदाधिकारी पनि व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाउन अग्र स्थानमा छन् । यस विषयमा रिपोटिङ भइरहेको छ ।
व्यक्तिगत भिसामा जानेहरूले यस्तो प्रक्रिया बेवास्ता गर्दा ठगिन्छन् र कानुनी सुरक्षाबाट पनि वञ्चित भएको आप्रवासनविज्ञ डा मिना पौडेल बताउँछिन् । उनका अनुसार नेपालको श्रम कानुन अनुसार कुनै पनि कामदारले वैदेशिक रोजगारीमा जानुअघि श्रम स्वीकृति लिनु अनिवार्य छ । तर कानुनी प्रक्रिया मिचेर नेपालमा म्यानपावर र कन्सल्टेसीले ठगि गरिरहेको उनको आरोप छ ।
व्यक्तिगत श्रम स्वीकृतिका फरक व्यवस्था सिधै ऐन विपरित
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि एउटै ऐन, एउटै प्रक्रिया लागू हुने मान्यता कायमै रहेको अवस्थामा युरोप, खाडी, र मलेसिया जाने कामदारका लागि व्यक्तिगत श्रम स्वीकृतिमा फरक व्यवस्था गरिएको छ। विज्ञहरू भन्छन् यो वैदेशिक रोजगार ऐन, २०६४ को स्पष्ट उल्लङ्घन हो ।
ऐन के भन्छ ?
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८ अनुसारः
‘विदेश रोजगारमा जान चाहने व्यक्तिले म्यानपावरमार्फत वा व्यक्तिगत रूपमा जान चाहेमा समेत श्रम स्वीकृति (पोहोरापत्र) लिनु अनिवार्य छ ।’ पौडेलको बताउँछिन् ।
यस ऐनमा देशअनुसार फरक प्रक्रिया भन्ने व्यवस्था छैन ।
सबै गन्तव्य देशका लागि समान कानुनी प्रक्रिया लागू हुने स्पष्ट छ ।
तर कार्यान्वयन तहमा युरोपतर्फ इमेलमार्फत श्रम स्वीकृति,
र खाडी÷मलेसियातर्फ दूतावास प्रमाणीकरण अनिवार्य भन्ने फरक व्यवस्था गरिएको छ ।
खाडी र मलेसिया जानेहरूका लागिः
श्रम स्वीकृति लिँदा भिसा र करारपत्रमा नेपाली दूतावासको प्रमाणिकरण अनिवार्य ।
नेपाल फर्केपछि हुने समस्या (उपचार, तलब नपाउने आदि) रोक्न यस्तो व्यवस्था ।
नक्कली भिसा युरोपको तुलनामा कम
युरोप जानेहरूका लागिः
इमेलमार्फत आवश्यक कागजात पेश गरेर श्रम स्वीकृति लिन सकिने ।
नेपाली दूतावासको प्रमाणीकरण आवश्यक नपर्ने ।
सबै प्रक्रिया विदेश रोजगार सूचना प्रणालीमार्फत गर्दा कतिपय नक्कली
नेपालको विदेश रोजगार ऐन, २०६४
कुनै पनि नेपाली नागरिकले वैदेशिक रोजगारीमा जानुअघि श्रम स्वीकृति अनिवार्य लिनुपर्छ ।
म्यानपावर कम्पनीले व्यक्तिगत भिसाको नाममा कामदार पठाउनु पूर्णतः अवैध हो ।
दोषी पाइएमा म्यानपावर कम्पनीको अनुमति खारेज, जरिवाना, वा कारबाही गर्न सकिने व्यवस्था छ ।
तर पछिल्लो समय लाइसेन्स लिएकै कतिपय म्यानपावरले व्यक्तिगत भिसामा कामदार पठाएपनि विभागले कारवाहीको दायरामा ल्याउन सकेको छैन ।
इमेलका भरमा व्यक्तिगत श्रम स्वीकृति दिन बन्द गर्नुपर्छ । व्यक्तिगत श्रम स्वीकृति दिन सरकारले बनाएको नियममा इमेलमै नक्कली भिसाका लागि रोजगारदाताको भन्दै एजेन्टले नक्कली इमेल श्रम कार्यालयमा पठाउँछ ।
त्यो प्रक्रियामा सरकारी कर्मचारीले पैसा लिएर नक्कलीकै भरमा व्यक्तिगत श्रम स्वीकृति जारी गदै आएको प्रमाण आफुसँग भएको पत्रकार अधिकारीको दाबी छ ।
दैनिक सयौं कामदारलाई व्यक्तिगत श्रम स्वीकृति नक्कली इमेलमार्फत पनि कर्मचारी र बिचौलियाको सेटिङ जारी हुँदै आएको उनको भनाइ छ ।
भिजिट भिसामा पनि उस्तै
सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाए पनि मानव तस्करले सेटिङ मिलाएर नेपाली कामदार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् ।
हाल दैनिक युएई भिजिट भिसा २ सयभन्दा धेरै नेपाली दलालले पठाइरहेका छन् । जसमध्ये १ सय ५० जना महिला रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।
तस्करले अध्यागमन विभागका कर्मचारी, प्रहरी र एयरलाइन्सका कर्मचारीबीच सेटिङ मिलाएर भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् ।
यूएईलगायतका विभिन्न देशमा राम्रो काम र सेवासुविधाको प्रलोभनमा भिजिट भिसामा पठाएका श्रमिकहरू ठगीमा पर्ने क्रम सुरु भएको भन्दै प्रलोभनमा परी भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान विभागले सूचना समेत जारी गरेर सम्बन्धित निकायसँगै व्यक्तिलाई जानकारी गराएको छ ।