१९.२४ प्रतिशत बढ्यो नेपालको वैदेशिक व्यापार, निर्यातले तोड्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं– नेपालले गत वर्ष कीर्तिमानी निर्यात गरेको छ । आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ को असारसम्म नेपालबाट २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।
भन्सार विभागका अनुसार नेपालको निर्यात व्यापार ८१.८० प्रतिशतले फस्टाएको हो । अघिल्लो वर्ष नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजारको निर्यात गरेको थियो ।
ताजा तथ्यांकअनुसार नेपालले यो अवधिमा आयात समेत १३.२५ प्रतिशतले बढाएको छ । यसअनुसार १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजारको वस्तु तथा सेवा आयात गरेको छ । अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजारको आयात गरेको थियो ।
गत वर्ष नेपालको व्यापारघाटा समेत ६ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्ष १४ खर्ब ४० अबत्र्र ६० करोड ४२ लाख ८४ हजार रहेको घाटा गत वर्ष १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख ३० हजार पुगेको छ ।
गत वर्ष नेपालले कुल २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ । जुन अघिल्लो वर्षको १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजारको तुलनामा १९.२४ प्रतिशतले बढी हो ।
कुल व्यापारमा निर्यातको हिस्सा ५२.४७ प्रतिशतले धनात्मक हुँदा आयातको हिस्सा ५.०२ प्रतिशतले ऋणात्मक छ ।
गत आर्थिक वर्ष साउनमा १ खर्ब २८ अर्ब, भदौमा १ खर्ब ३४ अर्ब, असोजमा १ खर्ब २८ अर्ब, कात्तिकमा १ खर्ब २२ अर्ब, मंसिरमा १ खर्ब ४८ अर्ब, पुसमा १ खर्ब ६१ अर्ब, माघमा १ खर्ब ६६ अर्ब, फागुनमा १ खर्ब ५७, चैतमा १ खर्ब ६४ अर्ब र वैशाखमा १ खर्ब ६४ अर्ब ६५ करोड, जेठमा १ खर्ब ७० अर्ब र असारमा १ खर्ब ६० अर्ब रुपैयाँको आयात भएको छ।
यस्तै अघिल्लो आर्थिक वर्ष १ खर्ब ५२ अर्बमा सीमित रहेको निर्यात यस अवधिमा २ खर्ब ७७ अर्ब रुपैयाँको पुगेको छ, जुन अघिल्लो आर्थि वर्षको तुलनामा ८१.८० प्रतिशत बढी हो । निर्यातमा ठूलो हिस्सा भटमास तथा सोयाबिन तेलले ओगटेको छ ।
गत आर्थिक वर्ष साउनमा १२ अर्ब २२ करोड ६१ लाख, भदौमा २५ अर्ब ९ करोड ३१ लाख, असोजमा ३८ अर्ब ३७ करोड ८७ लाख, कात्तिकमा ५२ अर्ब ६७ करोड ७ लाख, मंसिरमा ७३ अर्ब ६५ करोड ९७ लाख, पुसमा ९८ अर्ब ७८ करोड ९२ लाख, माघमा १ खर्ब २७ अर्ब २० करोड ४८ लाख, फागुनमा १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख, चैतमा १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख, वैशाखमा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख, जेठमा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएको छ ।
एक वर्षको अवधिमा नेपालले वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढेको छ । विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको बैदेशिक व्यापार गरेको छ ।
यता गत एक वर्षमा नेपालले १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँको व्यापार घाटा व्यवहोरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०८० ८१ मा नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ रहेको थियो ।