एक वर्षमै साढे १३ हजार युनिट इभी नेपाल भित्रिए, कुन सेग्मेन्टका कति आए ?
काठमाडौं– एक वर्षमा साढे १३ हजार युनिट विद्युतीय सवारी (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन् । भन्सार विभागले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत वर्ष ३१ अर्ब ७५ करोड ३६ लाख ३३ हजार रुपैयाँ बराबरको इभि नेपाल भित्रिएका हुन् । यो अघिल्लो आवको तुलनामा भने ७.७० प्रतिशत बढी हो । अघिल्लो आवमा भने २९ अर्ब ४८ करोड २७ लाख रुपैयाँ बराबरको इभि नेपाल भित्रिएको थियो ।
विभागका अनुसार गत आवमा १३ हजार ५६९ युनिट इभि आयात भएका छन् । यो अघिल्लो आवको तुलनामा भने १५.९६ प्रतिशत धेरै हो । गत आवमा कुल १ हजार ७०१ वटा इभि नेपाल भित्रिएका थिए ।
जलवायु परिवर्तन र इन्धन निर्भरता घटाउने लक्ष्यसहित विश्वभर विद्युतीय सवारीको लहर चलेको बेला नेपालले पनि तीव्र गतिमा इभी अपनाइरहेको देखिन्छ । स्वच्छ ऊर्जा र दिगो यातायाततर्फ अग्रसर भइरहेको नेपालले इभीको क्षेत्रमा एक महत्वपूर्ण फड्को मारेको छ ।
गत आवमा ५० किलोवाट क्षमताका ४ हजार ७४३ वटा, ५१ देखि १०० किलोवाटका ७ हजार ४३१ वटा, १०१ देखि २०० किलोवाटका १ हजार ३६२ युनिट, ३०० किलोवाटका ४४ युनिट इभि आयात भएका छन् ।
हाल नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिका र इन्डोनेसिया लगायतका मुलुकहरूबाट विद्युतीय गाडी आयात हुने गरेको छ । ती मुलुकहरूबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका ईभी आयात हुँदै आएका छन् ।
विभागका अनुसार मासिक औसत नेपालमा १ हजार १३० युनिट हाराहारीमा इभि आयात हुँदै आएका छन् । तर, गत असारमा भने औसत भन्दा ज्यादै न्यून ७७ युनिट इभि मात्रै आयात भएको विभागले जनाएको छ ।
यद्यपि, गत जेठ महिनामा इभी आयात हालसम्मकै उच्च छ । जेठमा मात्रै ३ हजार ६३३ वटा इभि नेपाल भित्रिएका छन् । जेठमा ८ अर्ब ४४ करोड ५७ लाख रुपैयाँ बराबरको इभि आयात भएको विभागले जनएको छ ।बजेटमार्फत इभीमाथि कर वृद्धि गर्ने अनुमानसँगै जेठमा इभीको आयात उल्लेखनीय रूपमा बढेको हो ।
यस्तै, गत वैशाखमा मात्रै ४ अर्ब ४८ करोड ३४ लाख रुपैयाँ बराबरका १ हजार ८९२ युनिट, चैतमा ८७८ युनिट, फागुनमा ८३३ युनिट, माघमा ७७६ युनिट, पुसमा ७८३ युनिट, मंसिरमा २१० युनिट, कात्तिकमा ९६९ युनिट, असोजमा ९१६ युनिट, भदौमा २१ युनिट र साउनमा ३८१ युनिट इभि नेपाल आएका थिए ।
बीवाईडी, टाटा, एमजी, नेटा, हुन्डाई जस्ता ब्रान्डहरू नेपाली सडकमा द्रुत गतिमा दौडिरहेका छन् । नेपाली इभि बजार चिनियाँ ब्रान्डको कब्जामा देखिन्छ । कुल इभि आयातमा चिनियाँ ब्रान्डको हिस्सा ७५.२२ प्रतिशत छ । गत आवमा कुल १० हजार २०७ वटा इभि आयात भएका छन् । चीनबाट नेपालले कुल २४ अर्ब ७३ करोड २६ लाख रुपैयाँ बराबरको इभि आयात गरेको हो ।
चीनपछि भारतीय ब्रान्डहरुको उपस्थिति बाक्लो छ । गत आवमा भारतबाट नेपाल ६ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको ३ हजार २४६ वटा इभि आयात गरेको छ ।
विभागका अनुसार मलेसियाबाट ५० युनिट, जमनीबाट ४५ युनिट, संयुक्त राज्य अमेरिकाबाट ११ युनिट, कोरियाबाट ६ युनिट, इन्डोनेशियाबाट ४ युनिट इभि नेपाल भित्रिएका हुन् ।
