पाँच समस्याग्रस्त सहकारीका ऋणीलाई भदौ मसान्तसम्मको समय, ऋण नतिरे कडा कारवाही

पाँच समस्याग्रस्त सहकारीका ऋणीलाई भदौ मसान्तसम्मको समय, ऋण नतिरे कडा कारवाही
  • १० श्रावण २०८२, शुक्रबार २०:२०

काठमाडौँ– बागमती प्रदेश सरकारअन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाँचवटा समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तसम्ममा बक्यौता रकम तिर्न अन्तिम ताकेता दिएको छ ।

mulpatra

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले सार्वजनिक सूचना जारी गर्दै अन्तिम ताकेता दिएको हो ।

सूचना मार्फत ऋण तिर्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गर्ने ऋणीहरूप्रति कडा सन्देश दिँदै अब तोकिएको म्यादभित्र नआए कानुनी कारवाही गरिने स्पष्ट चेतावनी दिएको छ ।

सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्था ताकेता परेका हुन् ।

यी संस्थाहरू क्रमशः २०८० भदौ २१, २०८१ कात्तिक ११ र २०८१ पुस २८ मा समस्याग्रस्त सूचीमा सूचीकृत भएका हुन् ।

समितिका अनुसार आगामी भदौ ३१ भित्र कुनै पनि ऋणीले आफ्नो बाँकी साँवा वा ब्याज रकम बुझाउन अस्वीकार गरेमा, कानुन बमोजिम ब्याजसहित हर्जाना रकम समेत संकलन गरिनेछ । साथै, अचल सम्पत्ति कब्जा गर्नेदेखि कानुनी मुद्दा दायर गर्नेसम्मका प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

यसअघि समितिले फोन, व्यक्तिगत सम्पर्क र अन्य माध्यमबाट पनि ऋण तिर्न आग्रह गरिसकेको बताइएको छ ।