अहिले बैंकको नयाँ लाइसेन्स बाँड्नुपर्ने अवस्था छैन: डेपुटी गभर्नर ढुंगाना

डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको प्रष्ट पारेकी छिन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा ढुंगानाले नयाँ बैंक स्थापनाबारे चर्चा भएपनि अहिले नै लाइसेन्स बाँड्नसक्ने स्थिति नरहेको बताएकी हुन् ।
ढुंगानाकाअनुसार बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्न थालेको अहिले धेरै भएको छैन । कतिपय बैंकहरुमा समस्या भएका कारण अरुमा मर्ज गरिएको धेरै भएको छैन । मर्ज गर्ने स्थिति आएर मर्ज गर्नुप¥यो । कतिवटा बैंकहरु उपयुक्त हुन्छ भन्ने सन्दर्भमा राष्ट्र बैंकले अध्ययन समेत गरेको थियो ।
२ वर्षअघि एउटा अध्ययन गरेर बैंकहरुको संख्या निर्धारण गर्ने अहिले त्यसैलाई मिचेर नयाँ लाइसेन्स दिने कुरा सम्भव नहुने ढुंगानाले बताइन् । ढुंगानाकाअनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति नियमन तथा आवश्यक अन्य प्रावधानमार्फत बैंकिङ क्षेत्रमा स्थायित्व कायम राख्न निरन्तरण प्रयासरत छ । बैंंक तथा वित्तीय संस्थाहरुको वर्तमान स्थिति र परिदृश्यलाई नेपाल राष्ट्र बैंकले राम्रोसँग निहालिरहेको छ ।
बैंकिङ प्रणालीमा भएको विस्तार र आधुनिकीकरण, वित्तीय पहुँचमा भएको विस्तार, भुक्तानी प्रणालीमा भएको आधुनिकीकरण, वित्तीय सेवाको विविधिकरण र गुणस्तरमा सुधार र स्वतन्त्र पुँजी वृद्धिको प्रभावकारी कार्यान्वयनमार्फत समग्र आर्थिक स्थायित्व कायम गर्दै आउनु उपलव्धिका विषयहरु रहेको उनले बताइन् ।
कोभिड र त्यसपश्यात विश्व अर्थतन्त्रमा देखा परेका विभिन्न असरहरुका कारण केही वर्षयता अर्थतन्त्रले अपेक्षित गती लिन नसकेको बताउँदै अर्थतन्त्रका सूचकहरु गत वर्ष संकुचनमा रहेपनि अहिले भने विस्तारै सुधारोन्मुख रहेको डेपुटी गभर्नर ढुंगानाले बताइन् ।