कर्णाली विकास बैंक घोटाला प्रकरणः १११ जनालाई मुद्दा चलाउनुपर्ने सिआईबीको सिफारिस

काठमाडौं– कर्णाली विकास बैंक घोटाला प्रकरणमा १११ जनालाई मुद्दा चलाउनुपर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निष्कर्ष निकालेको छ । सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ ।
सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उच्च अदालत नेपालगञ्जमा मुद्दा दर्ता गर्नेछ । अहिले अनुसन्धान प्रतिवेदन अध्ययनकै क्रममा रहेको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरिसकेको छैन ।
यो प्रकरणमा सीआईबीले अहिलेसम्म चार जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक सीआईबीले राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई पक्राउ गरेको थियो । टोखाबाट पक्राउ परेका उनलाई सीआईबीले बाँके लगेर अनुसन्धान गरेको थियो ।
खातामा कर्णाली विकास बैंकबाट १० लाख रुपैयाँ आएको भेटिएपछि उनी पक्राउ परेका थिए ।
यसअघि सीआईबीले अनुगमनमा गएकाहरूको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । पत्र गएपछि राष्ट्र बैंकका कर्मचारीहरूबीच तनाव सिर्जना गराएको थियो । त्यसपछि सीआईबीसहित प्रहरी उच्च अधिकृतहरूसँग गभर्नर विश्व पौडेलले समेत चासो देखाएका थिए ।
यो भन्दा अघि सीआईबीले तत्कालीन अध्यक्ष दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरेको थियो । उनीहरू सबैलाई बाँके लगेर अनुसन्धान गरिएको छ । सीआईबीका डीएसपी दान थापाको टोलीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।