नेप्से परिसूचकमा ठूलो गिरावट, उत्साहित बजारमा पुनः अन्यौल, कारोबार रकम घट्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेखनीय गिरावट आएको छ। अघिल्लो हप्तासम्म लगातार उकालो लाग्दै ३ हजार बिन्दु नजिक पुगेको नेप्से परिसूचक आइतबार ६३.७३ अंकले घट्दै २८५८.९० बिन्दुमा ओर्लिएको हो। अघिल्लो कारोबार दिन नेप्से २९२२ अंकमा बन्द भएको थियो।

राष्ट्र बैकको हप्ता मौद्रिक नीति सार्वजनिक भएपछि बजारमा सकारात्मक चहलपहल देखिएको थियो। लगानीकर्ताहरुको मनोबल बढेको थियो । मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा बढाइएपछि लगानीकर्तामा उत्साह आएको थियो। त्यसकै कारण केही दिन बजारले उल्लेख्य वृद्धि गर्दै २९५० अंक पार गर्न सफल भएको थियो। तर नयाँ साताको सुरुआतमै बजार ओरालो लागेकोले लगानीकर्तामा अन्योल छाएको छ ।
आज आइतबारको कारोबारमा कुल ३१९ कम्पनीको कारोबार हुँदा ३ करोड २२ लाख ६० हजार बढी कित्ता सेयर किनबेच भयो । कारोबार रकम भने घटेर १३ अर्ब ७ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो कारोबार दिन बजारमा १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो,
![]() |
![]() |
![]() |
|---|
कारोबारमा आएकामध्ये २३३ कम्पनीको सेयरमूल्य घट्दा मात्र १६ कम्पनीको मूल्यमा वृद्धि देखिएको छ। यसले बजारमा भारी बिक्री चाप रहेको देखाउँछ। सबै समूहका परिसूचकमा गिरावट आएको छ, विशेषगरी अन्य र माइक्रोफाइनान्स समूहमा ३ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ। बैंकिङ, जीवन बीमा, उत्पादनमूलक र इन्भेष्टमेन्ट समूहको परिसूचक पनि २ प्रतिशतभन्दा बढीले घटेको छ।
लगातार बढेको कारोबारमा नाफा बुक गर्न लागेकाले बजार घटेको विश्लेषण हुँदै गर्दा धेरै अंकको गिरावटपछि लगानीकर्ता पुनः अन्यौलमा परेका छन्।



