‘मानव बेचबिखन र भिजिट भिसाको अनियमिततालाई एउटै डालोमा हालेको देख्छु,’

काठमाडौं– अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसालाई मानव तस्करीसँग जोड्नु नहुने बताएका छन् ।
विभागले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसामा देखिएको समस्या कुशासन र अनियमितताको विषय भए पनि त्यसलाई मानव बेचबिखनजस्तो सङ्गठित अपराधको परिभाषाभित्र राख्न नहुने उल्लेख गरेका हुन् ।
भिजिट भिसा प्रकरणलाई मानव बेचबिखन भनिरहेका छौँ । मानव बेचबिखन र भिजिट भिसामा भएको अनियमिततालाई एउटै डालोमा हालेको देखेको उनले बताएका छन् ।
दुई दशकदेखि अध्यागमनसँग सम्बन्धित सबै सरोकारवालको ध्यान नेपालीको ‘प्रस्थान’मा मात्रै केन्द्रित भएको उनले बताए । ‘भिजिट भिसामा जाने कसैको क्षमता छ कि छैन, लुकेर बस्छ कि बन्दैन भनेर सोच्ने गरे पनि विदेशीहरू कुन उद्देश्यले नेपाल आउँछन् र आएर के गर्छन् भन्नेमा कसैले ध्यान नदिएको उनको गुनासो छ । अब विदेशी नागरिकको ‘आगमन’ व्यवस्थापन र राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राखिनुपर्ने उनले बताए ।
‘हामी हाम्रा नागरिकको हैसियत जाँच्न पारखी भयौँ, तर विदेशी आएर घर–घरमा को–कोलाई भेटेका छन्, कस्ता योजना बनाएका छन् भन्नेमा हाम्रो ध्यान कम गयो,’ उनले भने । विगत २० वर्षदेखि भिजिट भिसाको समस्या जहाँको त्यहीँ रहेको भन्दै उनले नीतिगत द्विविधाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
भिजिट भिसामा भएको अनियमितता वा कुशासन हो, तर त्यो मानव तस्करी होइन । कानुनले पनि यसलाई फरक रूपमा परिभाषित गरेको बताए । ‘भिजिट भिसामा विदेश जाने नागरिकप्रति समाज र राज्यले हेर्ने दृष्टिकोणमा समेत दोहोरो मापदण्ड रहेको छ । विदेशमा गएर सफल हुनेलाई राज्यको सम्पत्ति र गौरव मान्ने तर समस्यामा पर्नेलाई तिरस्कार गर्ने सामाजिक मनोविज्ञानले सही नीति निर्माणमा बाधा पुर्याएको छ ।’ उनले भने ।
दुःख पाएर आएको नागरिक र भिजिट भिसामा गएर पदाधिकारी बनेर आएकोलाई हेर्ने हाम्रो दृष्टिकोण एउटै हुनुपर्छ । उनले सफल होस् वा असफल, विदेशमा रहेका हरेक नागरिकप्रति राज्यको समान दायित्व हुने र समस्यामा परेकालाई उद्धार गर्नु पनि सामाजिक न्यायको एउटा पाटो भएको बताए ।
भिजिट भिसामा गएर कोही एनआरएनको ठुलो पदमा पुग्यो र हामी जाँदा उपहार दिन सक्ने भयो भने त्यो राज्यको सम्पत्ति भयो । तर, कोही काम नपाएर दुःखमा प¥यो भने हामी त्यसलाई फरक नजरले हरेको उनको आरोप छ ।
तिवारीले आफ्नो कार्यकालमा कुनै पनि प्रकारको मानव बेचबिखन वा ठुलो भ्रष्टाचारमा आफू संलग्न नहुने भन्दै कर्मचारीको स्वेच्छाचारी अधिकारलाई घटाउने र सेटिङ तथा भ्रष्टाचारको सम्भावनालाई न्यूनीकरण गर्ने वस्तुगत मापदण्डमा आधारित प्रणाली निर्माण गर्ने प्रतिबद्धता जनाए । ‘अध्यागमन सुधारको केन्द्रबिन्दु व्यक्ति नभई प्रणाली हुनुपर्नेमा उनको जोड छ । ‘रामको ठाउँमा श्याम राखेर मात्रै अध्यागमनको समस्या समाधान हुँदैन । संसारमा कहीँ पनि व्यक्ति राम्रो खोजेर सुशासन हुँदैन, प्रणाली राम्रो बनाउने हो ।’ उनले भने ।
यी समस्या समाधानका लागि विभागले एडभान्स प्यासेन्जर इन्फर्मेसन (एपीआई), बायोमेट्रिक भेरिफिकेसन, स्मार्ट बोर्डर र जोखिम विश्लेषण (रिस्क प्रोफाइलिङ) जस्ता प्रविधिहरू भित्र्याएर अध्यागमनलाई आधुनिक बनाउने र नेपाल आएका विदेशीहरूको गतिविधि नियमनलाई प्रभावकारी बनाउने योजना अघि सारेका छन् ।
यसका लागि तथ्याङ्कमा आधारित विश्लेषण गर्दै भिजिट भिसामा जाने नेपालीको बढ्दो सङ्ख्या, प्रमुख गन्तव्य र त्यसपछिका प्रभावबारे गहिरो अनुसन्धान गरी नीति बनाइने उनको भनाइ छ । यसका लागि उनले अध्यागमन सुधारको अभियानमा सञ्चारमाध्यम, नीति निर्माता र नागरिक समाजसँग सहकार्यका लागि आह्वान गरे ।
भिडियो पनि