बैंक वित्तीयको तलब–भत्ता खर्च एक वर्षमै चार अर्बले बढ्यो

बैंक वित्तीयको तलब–भत्ता खर्च एक वर्षमै चार अर्बले बढ्यो
  • २६ श्रावण २०८२, आईतवार १२:३७

काठमाडौं– बैंकिङ क्षेत्रको सञ्चालन तथा व्यवस्थापन खर्च पछिल्ला वर्षहरूमा उच्चरूपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार आर्थिक वर्ष २०८१÷८२ को जेठ मसान्तसम्म मुलुकका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले केवल कर्मचारीको तलब, भत्ता र कार्यालय व्यवस्थापन शीर्षकमा झण्डै एक खर्ब रुपैयाँ खर्च गरेका छन् ।

mulpatra

हाल देशभर २० वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका १७ विकास बैंक र १७ फाइनान्स कम्पनी सञ्चालनमा छन् । आव २०८१÷८२ को जेठ मसान्तसम्म यी संस्थाहरूले कर्मचारीको तलब तथा भत्तामा मात्र ६० अर्ब २३ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् भने कार्यालय व्यवस्थापनमा ३८ अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । दुवै खर्च जोड्दा कुल ९८ अर्ब ८५ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

यो खर्च २०८०÷८१ को जेठ मसान्तको तुलनामा चार अर्ब १२ करोड ९० लाख रुपैयाँले बढी हो । सो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले कर्मचारीको तलब तथा भत्ताका लागि ५६ अर्ब ८३ करोड ३० लाख र कार्यालय व्यवस्थापनका लागि ३७ अर्ब ८९ करोड २० लाख रुपैयाँ खर्च गरेका थिए । जसको कुल रकम ९४ अर्ब ७२ करोड ५० लाख रुपैयाँ थियो ।

गत आवको जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले मात्र कर्मचारीको तलब र भत्तामा ५३ अर्ब १३ करोड ३० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनका लागि ३३ अर्ब २७ करोड १० लाख रुपैयाँ खर्च गरेका छन् । दुवै जोड्दा ८६ अर्ब ४० करोड ४० लाख रुपैयाँ पुगेको छ ।

यो रकम २०८०÷८१ को सोही अवधिको तुलनामा तीन अर्ब ५० करोड १० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कर्मचारीको तलब तथा भत्तामा ५० अर्ब १६ करोड ५० लाख र कार्यालय व्यवस्थापनमा ३२ अर्ब ७३ करोड ८० लाख रुपैयाँ खर्च गरेका थिए ।

त्यसैगरी, विकास बैंकहरूले आव २०८१÷८२ को जेठ मसान्तसम्म कर्मचारीको पारिश्रमिकका लागि पाँच अर्ब ६२ करोड ६० लाख र कार्यालय व्यवस्थापनका लागि चार अर्ब २४ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् । दुवै रकम जोड्दा कुल नौ अर्ब ८७ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

यो खर्च २०८०÷८१ को सोही अवधिको तुलनामा ४६ करोड ४० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा विकास बैंकहरूले कर्मचारीको पारिश्रमिकका लागि पाँच अर्ब ३३ करोड १० लाख र कार्यालय व्यवस्थापनमा चार अर्ब ८० लाख रुपैयाँ खर्च गरेका थिए । जसको कुल रकम नौ अर्ब ४१ करोड १० लाख रुपैयाँ थियो ।

फाइनान्स कम्पनीहरूले भने आव २०८१÷८२ को जेठ मसान्तसम्म कर्मचारीको तलब र भत्तामा एक अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका छन् । कार्यालय सञ्चालनका लागि एक अर्ब नौ करोड ५० लाख रुपैयाँ खर्च गरी कुल दुई अर्ब ५७ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।

यो खर्च अघिल्लो आवको सोही अवधिको तुलनामा ९१ करोड रुपैयाँले कम हो । २०८०÷८१ को सोही अवधिमा फाइनान्स कम्पनीहरूले कर्मचारीको पारिश्रमिकमा एक अर्ब ३३ करोड ७० लाख र कार्यालय व्यवस्थापनका लागि एक अर्ब सात करोड ४० लाख रुपैयाँ खर्च गरेका थिए । जसको कुल रकम तीन अर्ब ४८ करोड ५० लाख रुपैयाँ थियो ।