काम नलाग्ने ५ लाख सदस्यलाई पद दिन पनि सकिँदैन: शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै ७० वर्षको उमेर हद र दुई कार्यकालको विषयमा मतभेद जस्तो देखिए पनि समस्याको समाधान भइसकेको बताएका छन् ।
पार्टी विधानमा आफैले स्थगित गरेको कुरालाई स्थगित नगरे जसरी कार्यकर्ता र जनताको बिचमा लैजानु नहुने उनको धारणा छ । पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने कुरा एमालेले लोकतन्त्र, पार्टी र स्वयम् पूर्वराष्ट्रपतिको हितका लागि सोचविचार गरेर गरेको बताए । उनले भने, पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा यो विषयलाई टुंग्याइसकेको छ। यसमा एक जनाको मात्र असहमति छ, कर्ण थापाको मात्रै असहमति छ ।’
पार्टीको समृद्ध नेपाल निर्माण गर्ने योजना भएको बताउँदै उनले एमालेका सबै ५ लाख सदस्यलाई पार्टीले पद दिन नसकिने स्पष्ट परेका छन् । पार्टी भित्र विभिन्न खालका अन्तर्घात अहिले पनि कायम रहेको भन्दै उहाँले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन यसलाई त्यागेर एक ढिक्का भएर अघि बढ्नु पर्ने बताए ।
उनले भने, ‘समाज बदल्नका लागि हिजो जीवन जोखिममा राखेर हिँडेको हुँ। अहिले पार्टीभित्र अवसरवाद जन्मिएका छन्। चित्त बुझेन भने सामाजिक सञ्जालमा पार्टी र नेताको विरुद्ध जथाभाबी लेख्ने प्रवृत्ति रोक्नुपर्छ । समाजलाई बदल्ने तागत नेकपा एमाले बाहेक अरूसँग छैन, एमालेका नेता कार्यकर्ता एक भएर लाग्ने हो भने एमालेको लागि मिसन २०८४ सम्भव छ ।’
पार्टीले बहुमतको सरकार बनाएपछि मात्र पार्टीको नीति लागू गर्न सकिने कुरा नबिर्सन आग्रह गरे । अहिले देशमा स्थायित्वको लागि नेपाली कांग्रेससँग मिलेको भए पनि आउने चुनाव दुवै पार्टी एक्ला एक्लै लड्ने बताए । चुनावको बेलामा काम नलाग्ने नेता कार्यकर्ताको कुनै काम नभएको भन्दै पार्टी नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्वलाई जोगाउनु सबैको दायित्व भएको बताए ।