राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३ प्रतिशत बढ्यो

काठमाडौं– सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ । एकै वर्ष बैंक नाफा वृद्धिदर साढे ४९ प्रतिशत देखिएको छ । बैंकले बिहीवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा बैंकले ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आवको तुलनामा ४९.५३ प्रतिशत धेरै हो । अघिल्लो आवमा पनि बैंकको यस्तो नाफा २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि झिनो सुधार देखिएको छ । गत आवमा बैंकको यस्तो आम्दानी ०.५२ प्रतिशत बढेर १० अर्ब ८ करोड २४ लाख रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो आवमा बैंकले १० अर्ब ३ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता, बैंकको संचालन नाफा भने ३१.५७ प्रतिशत बढेको छ । गत आवमा बैंकको यस्तो नाफा ५ अर्ब ३८ करोड २५ लाख रुपैयाँ कायम भएको छ ।
नाफा लगायतका सूचकहरुमा सुधार गरेको बैंकको लाभांश क्षमता भने न्युन देखिएको छ । यो वर्ष बैंकले १.१४ प्रतिशत मात्रै लाभांश बाँड्न सक्ने सामाथ्र्य बनाएको छ । गत आवमा बैंकको वितरणयोग्य मुनाफा ३० कोड ३४ लाख रुपैयाँ कायम भएको छ । यद्यपि, अघिल्लो आवमा भने बैंकको यस्तो नाफा १ अर्ब २२ करोड बढी ऋणात्मक थियो ।
व्यावसयमा भने बैंक निकै आक्राम नै देखिएको छ । बैंकको निक्षेप १६.५९ प्रतिशत बढेर ५ खर्ब ४१ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा लगानी पनि १९.७८ प्रतिशत बढेर २ खर्ब ९४ अर्ब १८ करोड पुगेको छ ।
हाल बैंकको प्रतिसेयर आम्दानी २४.४१ रुपैयाँ छ । बैंकको खराब कर्जामा भने सुधार देखिन्छ । अघिल्लो आवमा ४.२८ प्रतिशत रहेको खराब कर्जा गत आवमा आइपुग्दा ३.५९ प्रतिशतमा झरेको छ ।
हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने ३७ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ राखेको छ ।