रास्वपा महाधिवेशनको भव्य तयारी, विद्युतीय मेसिनबाट भोटिङ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनलाई भव्य र प्रविधिमैत्री बनाउन व्यापक तयारी थालेको छ। भोली असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने महाधिवेशनमा पहिलो पटक विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ।

महाधिवेशनका लागि भरतपुरस्थित गेस्ट हाउस चौरमा अत्याधुनिक संरचनासहितको कार्यक्रमस्थल निर्माण भइरहेको छ। करिब ३ हजार वर्गमिटर क्षेत्रफलमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचना तथा वाटरप्रुफ टेन्साइल फेब्रिक प्रयोग गरी तीनवटा विशाल डोम निर्माण गरिँदै छन्। कार्यक्रमस्थलमा एलइडी स्क्रिन, पङ्खा, कुलर तथा अन्य आधुनिक सुविधाको व्यवस्था गरिएको छ।
रास्वपाले महाधिवेशनमा करिब ४० हजार सहभागी उपस्थित हुने अपेक्षा गरेको छ। तयारीका लागि विभिन्न १८ वटा उपसमितिहरू परिचालन गरिएका छन्। प्रतिनिधिहरूको आवास तथा भोजन व्यवस्थामा सहजीकरण गर्न होटल व्यवसायीहरूले विशेष छुटको व्यवस्था गरेका छन्।
![]() |
![]() |
![]() |
|---|
पार्टी नेतृत्वले महाधिवेशनलाई संगठन सुदृढीकरण, नेतृत्व चयन र आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। प्रविधिको प्रयोग, व्यवस्थापनको आधुनिक शैली र ठूलो सहभागितासहितको यो महाधिवेशन नेपाली राजनीतिक दलहरूको सम्मेलन व्यवस्थापनमा नयाँ अभ्यासका रूपमा हेरिएको छ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार महाधिवेशनका प्रतिनिधिहरूले विद्युतीय उपकरणमार्फत उम्मेदवारको नाम र फोटोमा स्पर्श गरेर मतदान गर्न सक्नेछन्। यस व्यवस्थाले मतदान प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
पहिलो चरणमा सभापति पदका लागि एक जना र केन्द्रीय समितिका ९९ सदस्यका लागि मतदान हुनेछ। निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदान सम्पन्न गर्न करिब ६ घण्टा लाग्ने अनुमान गरिएको छ। त्यसपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदका लागि दोस्रो चरणको निर्वाचन गरिनेछ।
Image Source: © https://mulpatra.com
निर्वाचन तालिकाअनुसार असार ८ गते दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुनेछ भने सोही दिन साँझ पहिलो चरणको मतदान गरिने तयारी गरिएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



