चाँदी आयातमा सटही सीमा ५ लाख डलरसम्मको बढाइयो

काठमाडौं– नेपाल राष्ट्र बैंकले चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ ।
केन्द्रिय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार (भदौ १ गते) एकीकृत परिपत्र–२०८१, संशोधन गर्दै यस्तो सुविधाको सीमा बढाएको हो । यसले चाँदी आयात गर्ने उद्योगीहरुलाई ठुलो राहत हुने भएको छ ।
अब उद्योगहरूले अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म प्रतिपटक चाँदी आयात गर्न सटही सुविधा पाउनेछन् । यसअघि यस्तो सीमा ३ लाख अमेरिकी डलर मात्र थियो ।
उद्योगले आफ्नो प्रयोजनका लागि चाँदीको गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा जस्ता वस्तु उत्पादन गर्न कच्चा पदार्थको रूपमा चाँदी आयात गर्दा अब अमेरिकी डलर ५ लाखसम्म सटही सुविधा लिन सक्नेछन् । अन्य चाँदी व्यवसायीहरूलाई भने यथावत रूपमा अमेरिकी डलर १ लाख वा सो बराबरको विदेशी मुद्रासम्म सटही सुविधा कायम गरिएको छ ।
चाँदीको गरगहना वा कलात्मक वस्तु निर्यात गर्ने व्यवसायीहरूले भने निर्यात अर्डर प्रमाणित गर्ने कागजातहरू (जस्तैः अग्रिम भुक्तानी, प्रतीतपत्र, वा विदेशी खरिद आदेश) प्रस्तुत गरेमा त्यसमा उल्लिखित मूल्यसम्म सटही सुविधा सीमा नलाग्ने व्यवस्था गरिएको केन्द्रिय बैंकले जनाएको छ ।
अब वाणिज्य बैंकहरूले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा अघिल्लो सटही अन्तर्गत निर्यात भएको थियो कि थिएन भन्ने अनिवार्य रूपमा यकिन गर्नुपर्नेछ । साथै, व्यवसायीले अन्य बैंकबाट बक्यौता नभएको स्वघोषणा पनि गर्नुपर्ने उल्लेख छ ।