उपसभामुख रानालाई हटाउन कांग्रेस–एमाले सांसदको हस्ताक्षर सुरु

काठमाडौं– उपसभामुख इन्दिरा रानालाई हटाउन सत्तारुढ नेकपा एमालेको संसदीय दलमा हस्ताक्षर थालिएको छ । जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा डाकिएको थियो ।
आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा बोलाएको एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा धमाधम हस्ताक्षर गराएको हो । अहिले आफूहरू उपस्थित भएर हस्ताक्षर जारी रहेको एक सांसदले बताए । एमाले सांसद मुख्य सचेतकको कार्यकक्षमा छिरेर हस्ताक्षर गर्दै निस्किरहेका छन् ।
उपसभामुख इन्दिरा रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।
कांग्रेसले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित हुने गरी बोलाइसकेको छ । त्यसअघि कांग्रेसको पदाधिकारी बैठक जारि छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।
एमालेका एक सांसदका अनुसार दुई बजेसम्म हस्ताक्षर गर्नेगरी सांसदहरूलाई खबर गरिएको छ । कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो ।
महान्यायाधिवक्ता रमेश बडालसहित उनीहरूले छलफल गरेका थिए । उक्त छलफलमा सामाजिक सञ्जाल नियमन गर्नेबारे सर्वोच्च अदालतको फैसलाको मात्र होइन उपसभामुखको महाभियोगबारे पनि छलफल भएको थियो । त्यही छलफलपछि मंगलबार नै त्यो प्रक्रिया अघि बढाउन दलहरु लागेका हुन् ।