नाडा अटो शोको उद्घाटन प्रधानमन्त्रीले गरे, कमिज–सुरुवालमा रोबोटको अभिवादन

काठमाडौं– आजदेखि काठमाडौंको भृकुटीमण्डपमा १७औँ नाडा अटो शो सुरु भएको छ । ८ गतेसम्म चल्ने शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला सुरु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नाडा अध्यक्ष करण चौधरीले यसपटक केही नयाँ आकर्षण थप्ने कोशिस गरेको जानकारी दिए । भौतिक मन्त्रालयले सवारी आयातसम्बन्धी मापदण्ड तयार गरिरहेको बताउँदै उनले नाडासँग सहकार्य गरेर अघि बढ्ने अपेक्षा गरे ।
यसपटकको शोमा अवलोकनकर्ताले दिपलको उड्ने ट्याक्सी, मानवीकृत रोबोटको अवलोकन गर्न पाउने उनले बताए । त्यस्तै नाडा र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेसन निर्माण भइरहेको बताउँदै उनले चाँडै पूर्वाधारको समस्या हल हुने बताए । शोमा चारपांग्रे, दुईपांग्रेदेखि तिनका पाट्र्सपुर्जाहरुसम्म प्रदर्शन गरिएका छन् ।