रेमिट्यान्सः हालसम्मकै उच्च, गत वर्ष १७ खर्ब २३ अर्ब भित्रियो

रेमिट्यान्सः हालसम्मकै उच्च, गत वर्ष १७ खर्ब २३ अर्ब भित्रियो
  • ८ भाद्र २०८२, आईतवार १५:५९

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपालले हालसम्मकै उच्च रेमिट्यान्स भित्र्याएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधिमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको हो । यो अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

mulpatra

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा रेमिट्यान्स आप्रवाह १४ खर्ब ४५ अर्ब रुपैयाँ थियो, जुन सो वर्ष १६.५ प्रतिशतले बढेको थियो । यस वर्ष भने वृद्धि दर थप उकालो लाग्दै ऐतिहासिक उच्च स्तरमा पुगेको हो ।

२०८२ सालको असार महिनामा मात्र विभिन्न मुलुकमा कार्यरत नेपालीले १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ पठाएका छन् । अघिल्लो वर्षको सोही महिनामा यो रकम १ खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।

mulpatra mulpatra mulpatra

समीक्षा वर्षमा अमेरिकी डलरका आधारमा समेत विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढ्दै १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष डलरमा यो वृद्धि १४.५ प्रतिशत थियो ।

वैदेशिक रोजगारीतर्फ पनि उल्लेख्य वृद्धि देखिएको छ । गत वर्ष नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिनेको संख्या ५ लाख ५ हजार ९५७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यो क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ मात्र थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले रेमिट्यान्स आप्रवाह निरन्तर उकालो लाग्दै नेपालमा हालसम्मकै उच्च स्तरमा पुगेको देखाएकोछ, जसले विदेशी रोजगारीबाट आउने आम्दानी नै अर्थतन्त्रको मुख्य आधार बनेको समेत देखाएको छ ।

Image Source: © https://mulpatra.com